काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय लिएपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेकी हुन्।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले बिहीबार राति विज्ञप्ति निकालेर यस्तो जानकारी दिएका हुन । उनले विज्ञप्ति मार्फत विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको जानकारी गराएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिने निर्णय आजको मन्त्रिपरिषदबाट लिएका थिए। विश्वासको मत नलिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सांसदहरुलाई आह्वान गरेकी हुन्।
ओली गत वैशाख ३० गते संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताका रुपमा प्रधानमन्त्री बनेका थिए। अल्पमतमा रहेका उनले संसदबाट विश्वासको मत प्राप्त नहुने भएपछि मार्ग प्रशस्त गरेका हुन्। अब उपधारा ५ बमोजिम भोलि साँझसम्म नयाँ प्रधानमन्त्रीका लागि संसदका बहुमत सदस्यको विश्वाससहित दाबी पेश गर्नुपर्ने हुन्छ।
अहिले प्रतिनिधिसभामा कसेको बहुमत छैन। यो अवस्थामा दुई वा दुई भन्दा बढी दल समर्थन लिएर संसदका कुनै पनि सदस्यले बहुमत पुष्टि गरेमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्नेछिन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend