काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन ।
बुधबार अध्यक्ष ‘प्रचण्ड’को निजी सचिवालयले प्रेस वक्तव्य जारी गरेर प्रधानमन्त्री ओलीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत् कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको भन्दै कारबाहीका लागि निर्वाचन आयोगलाई आग्रह गरेको हो ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा भोलि हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा वागमती प्रदेशका एमाले उम्मेद्वार रामबहादुर थापालाई विजयी बनाउन मतदातालाई गर्नुभएको अपिलले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जेष्ठ ३ गते राति १२ बजेदेखि मौन अवधि शुरु भइसकेको सन्दर्भमा गरिएको यसप्रकारको अपिल निर्वाचन आचार संहिता विपरित भएको स्वयं निर्वाचन आयोगले सचेत गराइसकेको छ ।’
त्यस्तै उहाँले स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै यस विपरित सरकार प्रमुखले नै अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरुलाई अपील गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा भएको बताए ।
विज्ञप्तीमा थप भनिएको छ, ‘मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ रु प्रधानमन्त्रीको यस कार्यको निन्दा र भत्र्सना गर्दै आवश्यक कारवाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend