काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका बेला ऋणीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।
यसैगरी कोभिड(१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाउने समेत राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकले महामारी नियन्त्रणका लागि सञ्चालन हुने उद्योगहरुलाई समेत केही राहत दिने बताएको छ । नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा नै कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend