
काठमाडौं । आज शुक्रबार साँझ ६ बजेदेखि दुई घण्टासम्म ओली र नेपाल पक्षका ६ नेताबीचको वार्ताले सकारात्मक दिशा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा वैशाख २७ गते विश्वासको मत एकजुट भएर हाल्ने कुरामा सहमति नजिक पुगेको वार्तामा सहभागी एकजना नेताले बताए ।
उक्त वार्ता पार्टीलाई कसरी एक ढिक्का बनाउने भन्ने बिषयमा केन्द्रित थियो। वार्तामा आगामी वैशाख २७ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिने र नेपाल पक्षका ६ बुँदे माग सम्बोधनबारे छलफल भएको हो। तर सहमतिमा पुग्न अझै केही दिन लाग्न सक्ने एकजना नेताले बताएका छन्।
शनिबार फेरी बस्ने गरी बालुवाटार वार्ता टुंगिएको छ। वार्तामा एमाले अध्यक्ष ओलीको तर्फबाट स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी थिए।
उता वरिष्ठ नेता नेपाल समूहबाट स्थायी कमिटी सदस्य योगेश भट्टराई, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी भएको बताइएको छ। यी नेताहरुबीच बिहीबार पनि होटल याक एन्ड यति र होटल मेरियटमा वार्ता भएको थियो। यो वार्ताले ओली नेपाल समूहबीच देखिएको विवादलाई समाधानको दिशातर्फ लैजान सहयोग गरेको नेताहरुले बताएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend