बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

अस्पतालबाटै मदनकृष्ण श्रेष्ठले के लेखे जसले धेरैलाई भावुक बनायो

अस्पतालबाटै मदनकृष्ण श्रेष्ठले के लेखे जसले धेरैलाई भावुक बनायो

काठमाडौं । आज निधन भएका बरिष्ठ संगीतकार एवंम गायक प्रेमध्वज प्रधानलाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अस्पतालबाटै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कोरोनाकै कारण पुनः अस्पताल भर्ना भएका श्रेष्ठले २०२६ सालमा प्रधानकै संगीतमा आफ्नो गायन यात्राको शुरुआत भएको बताएका छन्।

हाई मेरो प्यारो प्रेमध्वज प्रधान दाइ, हार्दिक श्रद्धाञ्जली छ तिमीलाईु शीर्षक दिएर कलाकार श्रेष्ठले लेखेका छन् ‘घुम्तीमा नआउ है आँखा तिमी जुधाउन भन्थ्यौ अब तिम्रो तस्वीर हेरेर मन बुझाउनु बाहेक के नै बाँकि रह्यो र।।।’

कलाकार श्रेष्ठले लेखेका छन्

हाई मेरो प्यारो प्रेमध्वज प्रधानदाई
हार्दिक श्रध्दाञ्जली छ तिमीलाई।

२०२६ सालमा कवि दुर्गालाल दाइको शब्दलाई तिम्रै संगीतमा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत संगीतको क्षेत्रमा पाईला अगाडि बढाएको थिएँ मैले।

कसैको आँखामा पनि नबिझाउने मान्छे तिमी।
मनमा मानवता भएको ब्यक्ति तिमी
कसैको कुभलोको शब्द नबोल्ने हृदयमा भगवान भएको गायक तिमी।

मैले आफ्नो जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफूलाई पनि भाग्यमानी सम्झेको छु।

म फेरि मेडीसिटी हस्पिटलमा भर्ना भएको छु। कोरोनालाई जित्छु भन्ने आत्मविश्वास छ।

चाँडै निको हुनेछु र निको भएर हस्पिटलमा या बागबजार घरमा तिमीलाई भेट्न आउने सोचाइँमा थिएँ,
तर तिमीले त हामी सबैलाई छोडेर पो गईसकेको रहेछौ।।। मैले मेरा आँसुका धारा थाम्न सकिंन दाइ।

गोरेटो त्यो गाउँको लौन आजु भन्ने गीत कानमा ठूलो ठूलो आवाजमा गुन्जिरहेको छ।

माईती घरको ‘नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो’ गीतमा तिम्रो अद्वितीय स्वर्णिम स्वरको सम्झना भैरहेको छ।

‘घुम्तीमा नआउ है आँखा तिमी जुधाउन’ भन्थ्यौ अब तिम्रो तस्वर हेरेर मन बुझाउनु बाहेक के नै बाँकी रह्यो र।।।

तिम्रो आत्मालाई चीर शान्ती मिलोस।

हार्दिक श्रध्दाञ्जली छ है दाइ।

तिमीलाई माया गर्ने तिम्रो प्यारो भाइ उहि मदनकृष्ण श्रेष्ठ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend