काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको स्पष्ट पारेका छन् ।
उनले भने,‘हिजोबाट हाम्रो पार्टी एकता ताकाको स्पिरिटमा आईपुगेको छ, अब यही कोर्समा पार्टी अघि बढुछ ।’
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले आफू कुनैपनि गुटमा नभएको जिकिर गरे । उनले भने,‘म एकताको पक्षमा छु ।
म महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा छु । अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु ।’ उनले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक संघर्षले पार्टी टुट÷फूट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता भएपनि पार्टी फुटको चरणमा नभएको दाबी गरे ।
उनले भने,‘हाम्रो पार्टी फुटको चरणमा छैन् । तर, शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । यो शक्ति संघर्ष कुनै वैचारिक होईन, व्यक्तिगत पद र प्रतिष्ठाको लागि जस्तो देखिएको छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै थापाले हिजोको बैठकमा आफू अनुपस्थित् भएको पनि सुनाए ।
उनले भने,‘दुइृ अध्यक्षको सहमतिको आधारमा नै बैठक स्थगित् भएको भन्ने कुरा आएको थियो, त्यही भएर म गईनँ । तर, हिजो बालुवाटारमा बसेको स्थायी कमिटीको मिटिङको बारेमा मेरो विरोध छैन् ।’
हिजोको बैठकमा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यहरूले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याईसकेको पनि उनले जानकारी दिए ।
उनले भने,‘वामदेव कमरेडको ६ बुँदे प्रस्ताव एकताकै जगमा उभिएको छ ।’
वामदेव गौतमको ६ बुँदे प्रस्ताव र हिजोको बैठकमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ अनुपस्थित् भएसँगै नेकपाको शक्ति सन्तुलनमा पनि फेरबदल आएको उनको दाबी छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend