मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

अहिले सरकार परिवर्तन गर्ने कुरा जायज छैन् – नेता रायमाझी

अहिले सरकार परिवर्तन गर्ने कुरा जायज छैन् – नेता रायमाझी

काठमाडौं, २२ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा जायज नभएको बताएका छन् । पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको पनि उनको भनाई छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेकपाभित्रको विवाद कसरी समाधान हुन्छ ? भनेर यतिवेला सारा नेपाली जनता, नेकपाका नेता÷कार्यकर्ताहरुले चासो र चिन्ताका साथ हेरिरहेको पनि सुनाए ।
उनले पार्टीभित्र अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृृद्धिको एजेण्डाभन्दापनि शक्ति बाँडफाँडमा बढि केन्द्रीत रहेको स्पष्ट पारे ।
उनले भने,‘अहिले नेकपाभित्रको विवाद खासगरी पावर सेयरिङमा सम्बन्धित छ ।
यही विषयले उचाई लिईरहेको छ । अहिलेको बहस एजेण्डामा भन्दापनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित रहेको छ ।’

रायमाझीले लामो समयपछि नेपाली जनताले दुई तिहाई बहुमत दिएर मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र विकास र समृद्धिको एजेण्डालाई अघि बढाउन नेकपालाई सरकारमा पठाएको सुनाउँदै सोहीअनुसार नेकपा र यसको नेतृत्वमा रहेको सरकार खरो रूपमा उत्रिनुपर्नेमा जोड दिए । ‘दुई तिहाईको सरकार बनेपछि जनतामा यो सरकारप्रति अपेक्षा बढ्नु स्वभाविक हो ।
हामीले जनताका चाहनाबमोजिम राम्रो काम गर्न सक्ने अवसर थियो । तर, हामीले जनताका अपेक्षा पूरा गर्नेगरि काम गरेनौं । विगतका सरकारभन्दा केही राम्रा काम त पक्कैपनि भएका छन् ।

तर, दुई तिहाईको सरकार हो यो, त्यो स्तरमा अझै काम भैरहेका छनैन् ।’–रायमाझीको गुनासो छ । अहिले पार्टी एकताका अधुरो कामपनि ओझेलमा परेको उनको गुनासो छ ।

मुलुक यतिवेला कोरोनाको महामारीविरुद्ध लडिरहेको, सिमा विवादमा सिंगो राष्ट्र एकजुट भएर लागिरहेको सुनाउँदै उनले यस्तो बेलामा बहस र छलफल अरु विषयमा केन्द्रित गर्नु दुःखद् भएको टिप्पणी गरे ।
उनले भने,‘सरकारलाई परीणाममुखी बनाउनको लागि छलफल आवश्यक छ, तर सरकार परिवर्तन गर्दैमा समस्याको समाधान त हुने होईन् । यो बेलामा सरकार परिवर्तन गर्नु उपयुक्त होईन् ।’

रायमाझीले अहिले सरकार परिवर्तन गर्नु वा प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउन खोज्नु पार्टी एकताको म्याण्डेटविपरित हुनेपनि टिप्पणी गरे । उनले भने,‘एकता महाधिवेशन नभएसम्म सहमतिका साथ अघि बढ्ने समझदारी छ । अहिले बहुमत वा अल्पमतमा जाने होईन् ।

बहुमतको आधारमा अध्यक्ष वा प्रधानमन्त्री परिवर्तन गर्दा त्यो पार्टी एकताको म्याण्डेटविपरित हुन्छ ।’ अहिले प्रधानमन्त्री परिवर्तन गरिए देश अस्थिरतातर्फ जानेपनि उनले खतरा औंल्याए । तर, आवश्यक पर्यो भने सहमतिका आधारमा पदको बाँडफाँड भने गर्न सकिने विषय भएको उनको भनाई छ । पार्टी एकताभन्दा बाहिर नजानको लागि देशभरिका नेता तथा कार्यकर्ताहरुले नेतृत्वलाई खबरदारी गरिरहेको उनले जनाए ।

अहिले देखिएका विवाद समाधानको लागि नेताहरुले पार्टी एकतालाई केन्द्रविन्दुमा राखेर छलफल गर्नुपर्ने उनको सुझाव छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend