काठमाडौं, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक स्थगित गरिएको छ ।
नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।
अब स्थायी कमिटीको बैठक यही असार २४ गते ११ बजे बस्ने छ ।
यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने छ ।
यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो ।
तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो ।
मंसिर ४ गते भएको सहमतिलाई आधार बनाएर कार्यदलले अध्यक्षद्वयलाई विभिन्न सुझाव दिने तयारी गरेको छ ।
कार्यदलको सुझावमा दुवै अध्यक्षबीच थप छलफल गर्नुपर्ने देखिएपछि आजका लागि बोलाइएको स्थायी कमिटी बैठक अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सहमतिमा फेरि स्थगित भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र प्रचण्डबीच आइतबारको छलफलमा सुरुवातमा भनाभन भएको थियो । अन्तिममा दुवै अध्यक्ष कार्यदल बनाएर सहमति खोज्न तयार भएका थिए ।
ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्माले बालुवाटारमै आइतबार नै झण्डै चार घन्टा सहमतिका विभिन्न विकल्पमा छलफल गरेका थिए ।
स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक कलह चुलिएको छ ।
प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाव दिएका छन् । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडान लिएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend