बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

यस्तो छ मौसम विभागको पूर्वानुमान, देशैभर बदलीसँगै अविरल वर्षा

यस्तो छ मौसम विभागको पूर्वानुमान, देशैभर बदलीसँगै अविरल वर्षा

काठमाडौं ३,माघ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर बदलीसँगै अविरल वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

मौसमी प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रवार देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । शनिवारदेखि मौसममा क्रमिक सुधार आउने उनको भनाइ छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनीयुक्त विशेष बुलेटिन जारी गर्दै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीवार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । उपत्यकामा अहिले पनि वर्षा भइरहेको छ । वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

वर्षासँगै मौसम बदलीका कारण शुक्रवार काठमाडौंमा बढी चिसो महसूस गरिएको छ । नेपालको पश्चिमी मध्य भूभागमा र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार काठमाडौंमा २१ मिलिमिटर वर्षा भएको छ ।

भैरहवामा ३९, दाङमा २७, पोखरामा २३, वीरेन्द्रनगरमा २४, नेपालगञ्जमा १०, डडेल्धुरामा ८, धनगढी र दिपायलमा समान ७ मिलिमिटर वर्षा भएको छ । काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ८ र अधिकतम तापक्रम १४ दशमलव ९ मिलिमिटर वर्षा भएको छ ।

यसैबीच महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर शुक्रवार देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend