राजधानीमा धुलोधुँवाका कारण बालबालिकालाई बढी मात्रमा असर गर्ने गरेको छ । बालबालिकाको उपचार गरिने मुलुककै एक मात्र सरकारी बाल कान्तिको तथ्यांक डरलाग्दो छ । अस्पतालका अनुसार गत वर्ष हरेक दिन सरदर पाँच सय बच्चा ओपीडीमा आउने गर्थे । यो वर्ष त्यो संख्या हजारसम्म पुगेको छ । तीमध्ये अधिकांश धुवाँधुलोका कारण श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षति पुगेका बच्चा छन् । गाडीको धुवाँ, सडकको धुलो, उद्योगको धुवाँ, बालिने धुप, घरमा लगाइने रंगको वाफ तथा चुरोटको धुवाँबाट बच्न चिकित्सको सुझाव । अस्पतालका मेडिकल विभागले बच्चाहरूमा श्वासनली सुन्निने (ब्रोङकाइटिस), बाल दम (आस्तामा) र नाक सुन्निने (राइनाइटिस) समस्या सबैभन्दा धेरै देखिने गरेको बताएको छ ।
श्वासप्रश्वासको समस्या बच्चामा दोहोरिएको छ । त्यसले गर्दा उनीहरूको फोक्सो तथा श्वासनलीको विकासमा अवरोध पुग्ने गरेको छ । छिटोछोटो रुघा लाग्ने, नाक बन्द हुने, श्वास लिन गाह्रो हुने, घ्यारघ्यार हुने, सुख्खा खोकी लाग्नेजस्ता लक्षण देखिन्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलको पछिल्लो अध्ययनअनुसार धुवाँधुलोको सम्पर्कमा आउने बच्चामा दमजन्य र त्यसबाहेक श्वासप्रश्वासको समस्या सबैभन्दा धेरै देखिन्छ । साथै यसकारणले गर्दा शारीरिक र बौद्धिक विकासमा अवरोध पुग्ने गरेको पाईएको छ । चिकित्सक कुनै न कुनै तरिकाबाट धुवाँधुलो खाइरहेका सहरी र ग्रामीण क्षेत्रका बच्चामा समग्र शारीरिक विकासमा असर परिरहेको बताउँछन् । बालरोग विशेषज्ञका अनुसार अहिलको प्रदूषित वातावरणका कारण बच्चामा कम तौल हुने, बढ्न नसक्ने, बौद्धिकतामा ह्रास आउने, मानसिक तनाव उत्पन्न हुने समस्या वृद्धि भएको बताउँछन् ।
धुवाँधुलोले बच्चामा तनाव सिर्जना गर्ने, थकाई धेरै लाग्ने र झिँझो बढी लाग्ने समस्या देखिएको छ । त्यसले गर्दा उनीहरू अध्ययन र अन्य क्रियाकलापमा राम्रो प्रस्तुति दिन सकेका छैनन् ।
ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बच्चामा धुवाँधुलोका कारण धेरै समस्या देखिने गरेका छन् । ग्रामीण क्षेत्रका बच्चा जन्मेदेखि नै कुनै वस्तु, पशुपक्षी वा वातावरणमा घुलमिल हुन्छन् । त्यसले गर्दा उनीहरूमा रोगप्रतिरोधात्मक क्षमता बढी हुन्छ र हत्तपत्त रोगले आक्रमण गर्दैन ।
त्यस्तो वातावरण नपाउने सहरी बच्चामा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा घुलोधुवाँको सम्पर्कमा आउनासाथ अनेक समस्या देखिन्छन् । सहरका बच्चा घरभित्रै पनि चुरोट, आगो, लामखुट्टे मार्ने धुप, पूजा गर्ने धुपबाट निस्केको धुवाँ खान बाध्य छन् । बाहिर निस्केपछि सवारीसाधनबाट निस्केको धुवाँ, सडक निर्माणका क्रममा निस्केको धुलो, उद्योग कलकारखानाबाट निस्कको धुवाँ, मन्दिरमा बालिने धुपको धुवाँ, घरमा लगाइएको रंगको बाफ, चुरोटको धुवाँको सम्पर्कमा आउन बाध्य छन् । मास्कले थेग्न नसक्ने र फाहोरका कारण अझै प्रदूषित अहिलेको धुवाँधुलोले बच्चामा छाला, आँखा र नाकलगायतको एलर्जीसमेत देखिएका छन् ।
दमबाट ग्रसित बालबालिकाको संख्या वृद्धि भएपछि अस्पतालले उनीहरूका लागि छुट्टै ओपीडी सञ्चालनमा ल्यायो । सातामा दुई पटक चल्ने ओपीडी चार दिन सञ्चालन गर्दा पनि बिरामीको भीड भने थेगिनसक्नु छ ।
दम भएका बच्चामा ९० प्रतिशत कुनै न कुनै एलर्जीको पृष्ठभूमि छ । बच्चाको जाँच गर्ने उपत्यका अन्य अस्पतालमा पनि धुवाँधुलोका कारण यस्ता समस्या लिएर जाने बालबालिकाको संख्या बढेको पाइन्छ । हिजोआज हरेक अस्पतालमा सबैभन्दा धेरै उपचारका लागि बालबालिकाकै भीड लाग्ने गरेको पाईएको छ ।
बच्चाहरूलाई श्वासप्रश्वासजन्य रोगबाट बचाउन सबैभन्दा पहिले धुवाँधुलोबाट जोगाउनुको विकल्प नभएको बताउँछन् डाकटरहरु । त्यसका लागि बच्चा गर्भमै रहेदेखि आमाहरूले विशेष ख्याल गर्नुपर्छ । आमा प्रदूषित वातावरणमा बस्दा वा उनले धूमपान गर्दा दम लिएरै बच्चा जन्मिन सक्छन् ।
कुपोषणका कारण कम तौलमा वा समयअगावै जन्मिएका बच्चामा धुवाँधुलोले छिट्टै समस्या देखिन्छ ।।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend