सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कालापानी भारतलाई लिजमा दिने सुजाता कोइरालाको भनाई राष्ट्रघाती —भीम रावल

कालापानी भारतलाई लिजमा दिने सुजाता कोइरालाको भनाई राष्ट्रघाती —भीम रावल

काठमाडौं, २२ पौष । नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य भीम रावल सरकारको कामकारबाहीको कटु आलोचक हुन् । उनले सभामुखबारे नेकपाले निर्णय लिन नसक्दा संसद अनिर्णयको बन्दी बनेको भन्दै विरोध गरेका छन् । रावलले कालापानी भारतलाई लिजमा दिनुपर्छ भन्ने सुजाता कोइरालाको पछिल्लो अभिव्यक्तिलाई राष्ट्रघाती भनेका छन् । रावलसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः

सभामुख चयनमा किन अन्यौलता ?

सभामुख चयनमा यति बिलम्ब गर्नु उचित होइन । यसले लोकतन्त्रप्रति नै नकारात्मक धारणा पैmलाउँछ । छिट्टै हुनुपर्ने हो, यदि शीर्ष नेताहरुबीच सहमति गर्र्न कठिन भएको हो भने संस्थागत निर्णय हुनुपथ्र्यो ।

शीर्ष नेताहरुबीच सचिवालयमा निर्णय हुन सकेन, अब के गर्ने ?

उहाँहरुबीच सहमति हुन नसक्ने अवस्था हो भने हाम्रो कमिटि प्रणाली छ, त्यहाँबाट टुंग्याउँदा राम्रो हुन्छ । यसको कारणले संसद्को बैठक नै अवरुद्ध हुनु बाहिर र प्रणालीगत दुवैबाट हेर्दा राम्रो भएन ।

सचिवालयले नसकेपछि प्रणालीगतमा आउनुपर्छ भन्ने हो ?

सकेसम्म त शीर्ष नेताहरुले नै टुंग्याउँदा राम्रो । त्यसपछि सचिवालयले गर्दा पनि हुन्छ, होइन भने स्थायी कमिटिबाट टुंग्याउनुपर्छ ।

प्रधानमन्त्रीको सुवास नेम्वाङ, प्रचण्डको पूर्व माओवादीबाट हुनुपर्छ भन्ने छ, अब के हुन्छ ?

कसले कसलाई रुचाएको छ, मलाई त्यसबारेमा जानकारी छैन ।

तपाईंले जानकारी त राख्नुपर्यो नि ?

बैठकमा उठेका कुराहरु भन्ने हो । कसले कसलाई कहाँ राख्न खोजेको छ, मलाई जानकारी छैन ।

पूर्व एमाले कि पूर्व माओवादीबाट बनाउने ठ्याक्कै भन्नुस् न ?

मैले त नेपाल कम्युनिस्ट पार्टी मात्रै बुझेको छु ।

अहिले पनि गुट, उपगुटमा पूर्व एमाले र माओवादीको प्रभाव छ नि ?

त्यस्तो कसैलाई लागेको छ भने बैठकमा आउनुपर्यो, त्यहींबाट छिनोफानो हुन्छ ।

नेताहरु कमजोर भएर निर्णय गर्न नसक्ने अवस्थामा पुगेका हुन् ?

जसले अख्तियारी पाएर पनि छिनोफानो गर्न सक्नुहुन्न, त्यो उहाँहरुलाई थाहा होला । बैठकमा आएदेखि मैले पनि थाहा पाउँथे ।

२७ गतेसम्म पनि सभामुख चयन गर्न सक्नुभएन भने संसद अनिर्णयको बन्दी बनिरहने ?

त्यस्तो हुने उचित होइन ।

त्यसो हो भने पार्टी भित्र तपाईंहरुले किन दबाब दिनुभएन ?

हामीले बैठकमा भन्ने हो । बाहिर व्यक्तिविशेषको कुरा लिएर फलानो हुनुपर्छ, फलानो हुनुहँदैन भन्दै हिड्नु उचित हुँदैन । अब कि उहाँहरुले मिलाउनुपर्छ, कि बैठकमा आउनुपर्यो । पार्टी एउटा विधिवत ढंगले चल्नुपर्छ । अनिर्णयको बन्दी हुन सक्दैन ।

काम गर्न सरकारलाई थेप्रै अवसर छन, तर नेकपा कहाँ चुक्यो ?

नेपाली जनताले लामो समयपछि ठूलो विश्वास गरे । त्यसको सदुपयोग गर्नुपर्छ भनेर मैले आरम्भदेखि भन्दै आएको छु । यसमा देशको स्रोत, साधन प्रयोग गरेर विकास, निर्माण गर्ने र सुशासन दिने कुरा त्यो अवसरमा पर्छ । यस सन्दर्भमा कमीकमजोरी छ ।

कमीकमजोरी हटाउन सक्नुभएन भएन भने पार्टी कमजोर हुने भयो नि ?

यसमा त कुनै शंकै छैन ।

भ्रष्टाचारीहरुलाई पनि तपाईंहरुले संरक्षण गरिरहनु भएको छ नि ?

जो–जो यसमा संलग्न छन्, तिनलाई जनता र सञ्चारकर्मीहरुले औंला ठड्याउनुपर्छ । सबैलाई एकै ठाउँमा राख्ने कुरा भएन । तथ्यप्रमाणका आधारमा भ्रष्टाचारी ठहरिएका व्यक्तिलाई आफ्नो, अर्को नभनिकन कारबाही गर्नुपर्छ । यस्ता कुराको ख्याल गरिएन भने हिजोको जनमत सधैं हामीसँगै रहिरहन्छ भन्ने छैन ।

सुजाता कोइरालाले विवादमा रहेका नेपाली भूमि भारतलाई लिजमा दिने कि भन्नुभयो संभव छ ?

आफ्नो देशको भू–भाग विदेशीलाई लिजमा दिने कुरा जसले भनेको भएपनि त्यो राष्ट्रघाती कुरा हो ।

सुजाता कोइरालाले भन्नुभयो ?

विदेशी शक्ति राष्ट्रहरुको प्रभावमा परेर जसले यस्ता कुरा गर्छ त्यो सरासर राष्ट्रघात हुन्छ । हिजो शासकहरुले पनि यस्तै कुरा गर्ने गरेकाले भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको हो ।

उहाँले कालापानीको ठाउँमा भारतले अरु ठाउँको जमिन दिएपनि हुन्छ भन्नुभएको छ नि ?

उहाँकै सभापति शेरबहादुरजी प्रधानमन्त्री हुँदा महाकाली सन्धी भएको थियो । त्यसको सट्टामा वर्दियामा जग्गा दिने भनेको त्यो त दिएको छैन । अहिले लिम्पियाधुरादेखि सुस्तासम्मका त्यत्रो क्षेत्रफलको भूभाग छोडेर भारतले हामीलाई अर्को ठाउँमा जग्गा दिन्छ । यस्ता काल्पनिक र भ्रम सिर्जना गर्ने विचारहरु नै राष्ट्रघाती अभिव्यक्ति हुन् ।

एमसीसी पारित गर्ने कि नगर्ने ?

मैले अमेरिकासँग सहयोग नलिने भनेको छैन, लिने हो । तर, त्यो हाम्रो संविधान र अन्तराष्ट्रिय सन्धि सम्झौतासँग मेल नखाने कुरा परिवर्तन हुनुपर्छ । साथै अमेरिका र नेपाल बसेर यो सहयोग इन्डोप्यासेफिक अन्तर्गत होइन भनेर क्लियर गर्नुपर्ने हो । तर फेरि अमेरिकन अधिकारीले त त्यसैको अंग हो, भन्नुभएको छ । अमेरिकनसँग सर्तका दफाहरु हटाइदिउँ अनि त्यो सहयोग लिउँ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend