आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

पशुपतिनाथका काठ मक्किन थाले, अब कसले गर्छ संरक्षण !

पशुपतिनाथका काठ मक्किन थाले, अब कसले गर्छ संरक्षण !

काठमाडौं २०, पुस । पशुपतिनाथ मन्दिरको काठ कुहिएको छ । तीनतले मन्दिरको बीचको तलाका केही काठ कुहिएको हो । आँखीझ्याल अड्याउने फ्रेम कुहिएको हो ।

बीच तलामा रहेका आँखीझ्याल अड्याउने नौ फिटका केही काठ कुहिएको छ’, श्रीपशुपतिनाथ मन्दिर अध्ययन समितिका सदस्य प्रेमहरि ढुंगानाले भने, ‘कुहिएको काठको नमुना निकालिएको छ । त्यसलाई पुरातत्त्व विभागको रासायनिक प्रयोगशालामा परीक्षण गर्ने तयारी छ।’

विभागले पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा भूकम्पपछि मन्दिर जीर्णोद्धारबारे अध्ययनका लागि गठित समितिको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो। उक्त तलामा भण्डारीलाई बालाचतुर्दशीको अघिल्लो दिन मात्र प्रवेश दिइन्छ । सोही क्रममा उनीहरूले काठको नमुना निकालेका थिए ।

विभागको विश्वसम्पदा शाखाका प्रमुख सुरेशसुरस श्रेष्ठको संयोजकत्वमा श्रीपशुपतिनाथ मन्दिर अध्ययन समिति गठन गरी मंसिर १ देखि काम थालिएको थियो। समितिमा विभागका इन्जिनियर शाखाका प्रमुख सम्पत घिमिरे, स्ट्रक्चरल इन्जिनियरद्वय पुरुषोत्तम डंगोल र सुरज मल्ल, आर्किटेक्टद्वय शोभा महर्जन र सुदिन, पुरातत्व अधिकृत देवेन्द्र भट्टराई र पशुपति क्षेत्र विकास कोषको संस्कृति महाशाखाका प्रमुख प्रेमहरि ढुंगाना, इन्जिनियर पुरुषोत्तम खतिवडा र विसेट नाइके अरुण श्रेष्ठ छन्। बीच तलाको अध्ययन भइसकेको छ ।

भण्डारीलाई नौ दिन तालिम दिएर उक्त तलामा पठाइएको थियो। बाला चतुर्दशीको अघिल्लो दिन उनीहरू नागमणि र एकमुखे रुद्राक्ष निकाल्न त्यहाँ प्रवेश गर्ने चलन छ।

आँखीझ्यालभित्रको अवस्था समितिले यसै साता जाँच गरेको छ । समिति संयोजक सुरेशसुरस श्रेष्ठले भने, ‘काठका चौकोस कुहिएका छन्। ‘आधार दिने मुख्य काठमा समस्या देखिएन। तर, सचेत भएर समयमै मर्मत गर्नुपर्ने देखिन्छ।’
समितिले मूलभट्ट, भट्ट, भण्डारी, विसेट नाइकेलगायत सँगको समन्वय र सहकार्यमा काम गरिरहेको छ। तल्लो तलामा भएका चाँदी, काठ र गाह्रोको अवस्थाको परीक्षण चाँडै सुरु गर्ने संयोजक श्रेष्ठको भनाइ छ।

‘काम सुरु गरेपछि बाँकी राख्न नहुने भएकाले मर्मत संयन्त्र तयार पारेर मात्र अघि बढ्नुपर्छ’, श्रेष्ठले भने। यसका लागि अध्ययन समितिले कोषलाई पत्र लेख्नुपर्छ ।

कोषले कुन संस्थामार्फत गराउन ठिक हुन्छ र सुरक्षाका लागि कोसँग समन्वय के गर्नुपर्छ बुझेर प्रक्रिया अघि बढाउनुपर्ने समितिको ठहर छ । मन्दिरमाथि चढ्ने तीनवटा सिँढी छन्। मूल ढुकुटी भित्रबाटै जान सकिन्छ भने दोस्रो र तेस्रो तलामा जाने छुट्टाछुट्टै सिँढी छन्। माथ्लो तलाको अध्ययन अन्तिममा गर्ने योजना छ ।

‘माथिल्लो तलाका लागि चारैतिर खट बाँध्नुपर्छ। छानो दबिएको छ कि ? काठ पुगेको हो होइन, पानी चुहिने पो भएको छ कि ? खट बनाउँदै तल्लो तलाको काम गर्दै जाने योजना छ’, ढुंगानाले भने ।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले प्राविधिक समितिको प्रतिवेदनका आधारमा मर्मतको तयारी अघि बढाइने बताए । समितिलाई अध्ययन अवधि तोकिएको छैन। समितिका पदाधिकारीले प्रतिवेदन चाँडै तयार पार्ने बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend