काठमाडौं । काठमाडौँ महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकआपसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका ७ वटा सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।
यसअघि कामपाभित्रका विभिन्न ४ सहकारीलाई एकीकरण गरी २ वटा बनाइएको थियो ।उनले मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले व्यवस्थापन गर्न एकीकृत प्रणाली अवलम्बन गरिएको जानकारी दिए । महानगरले हाल सञ्चालनमा रहेका १ हजार ८५६ सहकारीलाई एकीकृत गरी ७०० वटामा झार्ने लक्ष्य लिएको छ ।
सहकारी ऐन, २०७४ तथा कामपाको सहकारी ऐन, २०७४ मा एकीकृत गर्न सकिने प्रावधान रहेको छ । एकीकृत हुन सहकारीहरु तयार रहनुपर्छ ।
दुई महिना अघि मात्र कापमाले वडा नं २४ मा रहेकोे विराज बचत तथा ऋण सहकारी र वडा नं १३ को सप्तदीप बहुउद्देश्यीय सहकारीलाई एकापसमा एकीकरण गरी ‘सप्तदीप बचत तथा ऋण सहकारी संस्था’ नाममा सञ्चालन अनुमति दिएको थियो ।
त्यस्तै, वडा नं २२ मा रहेको सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था र ३२ वडाको तपस्वी बचत तथा ऋण सहकारीलाई एकीकरण गरी ‘सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था’ नाममा सञ्चालन भइरहेको छ ।
एकीकृत हुने सहकारीले कामपाको सहकारी विभागमा निवेदन दिनुपर्छ ।
यसैक्रममा, सर्वसाधारणलाई ठगी गरेको भन्दै विभिन्न सहकारी कम्पनीहरु विरुद्ध ६० मुद्दा परेकामा ३५ को फस्र्योट भइसकेको विभागले जनाएको छ । यही क्रममा कामपा २९ वडामा सञ्चालनमा रहेको युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ ।
कामपा कार्यपालिका बैठकले एक महिनाअघि सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । विसं २०६४ मा दर्ता भएर सञ्चालनमा आएको सहकारीका सञ्चालक २०७४ बाट सम्पर्क्विहीन भएको छ ।
प्रशासन विभाग प्रमुख ढकालका अनुसार सो सहकारीका सञ्चालक भागेपछि बचतकर्ताले महानगरमा निवेदन दिएका थिए । रासस
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend