काठमाण्डौ १२, पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ डा. सन्दुक रुइत हेमबहादुर मल्ल पुरस्कारबाट सम्मानित भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र नेपाल जनप्रशासन संघद्वारा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रम माझ उपराष्ट्रपति वर्षमान पुनले उनीहरुलाई सम्मान गरे ।
साल्ट ट्रेडिङ कर्पाेरेशनको प्रायोजनमा स्थापना भएको हेमबहादुर मल्ल सम्मान २०७३ प्रदान गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई लोडसेडिङ हटाउन भूमिका खेलेको तथा डा.रुइतलाई आँखा उपचारमा र्पुयाएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले बताएको छ । पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ ।

कार्यक्रममा सम्बोधन बोल्दै पुरस्कार छनौट समितिका संयोजक समेत रहेका प्रमुख सुचना आयुक्त कृष्ण हरि बास्कोटाले हेम बहादुर मल्ल एक कुशल प्रशासक रहेको स्मरण गर्दै असल र राम्रा कामलाई प्रोत्साहन दिने उदेश्यका साथ बि. स. २०५९ साल देखी कर्पोरेशनको प्रायोजनमा हेम बहादुर मल्ल सम्मान प्रदान गर्न थालिएको स्मरण गराए ।

कार्यक्रममा साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडका अध्यक्ष लक्ष्मी दास मानन्धरले हेम बहादुर मल्लको योगदानको चर्चा गर्दै साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको विकास र सेवा बिस्तारमा ठुलो देन रहेको उल्लेख गरे ।

साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले हेम बहादुर मल्ल सम्मानले नेपालको प्रशासन क्षेत्र उत्साहित बन्दै जानेमा आफू आशावादी रहेको प्रतिकृया दिईन । कार्यक्रममा बिभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तीहरुको सहभागीता रहेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend