मण्डनदेउपुर, काभ्रे । चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्था लि. को तेस्रो वार्षिक साधारण सभा तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मण्डनदेउपुर नगरपालिका उपप्रमुख निर्मला शाहीले चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्था लि. स्थापनाको छोटो अवधिमा नै सुपथ मुल्यको सहकारी पसल, उन्नत विउ विजन पसल, नर्सरी स्थापना, रासायनिक मल बिक्री केन्द्र तथा विना कुनै सेवा शुल्क सहुलियत व्याज दरमा किसानलाई ऋण प्रदान गर्न सकेकोमा बधाई ज्ञापन गर्नुभयो ।

उद्देश्य अनुरुप सकारात्मक काम गर्ने सहकारीलाई सहयोग गर्न नगरपालिका सधै तयार रहको बताउनु भयो । चण्डेनी मण्डन साना किसान कृषि सहकारी शेयर सदस्यपरिवारका ७२ जना जेष्ठ नागरिकलाई सम्मान गर्दै उपप्रमुख शाहीले अहिलेको जाडोमा अग्रज बा आमालाई शिरक प्रदान गरि सम्मान गरेकोमा खुशी व्यक्त गर्दै संस्थाको प्रसंशासमेत गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुलीले कृषिको उत्पादकत्व बढाउन तथा उत्पादित बस्तुको उचित बजारिकरण गर्न सहकारी बजार विकास कार्यक्रम मण्डनदेउपुर नगरपालिकामासमेत लागु गरेको बताउनु भयो ।
सहकारीहरुको क्षमता अभिवृद्धि गर्न तथा व्यवसायिकरण गर्न जिल्ला सहकारी संघ काभ्रे सधै लागि परेको बताउनु भयो । संघको बहुउद्देश्यीय भवन निर्माणकालागि डिपीआर तयार भईरहेको संघका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

सहकारी सम्बन्धी लेख, रचना तथा “सहकारीको सारथी” नामक पुस्तकका लेखक एवं जिल्ला सहकारी संघका सचिव रहेका दिलिप शर्मालाई संस्थाले सम्मान गरेको थियो । सम्मानित व्यक्तित्व शर्माले आफुलाई सम्मान गरेकोमा आभार प्रकट गर्दै यो सम्मान सिङ्गो सहकारी अभियानको कदर भएको बताउनु भयो ।
जिल्ला सहकारी संघ काभ्रेका सचिव शर्माले काभ्रे जिल्लामा नै विना कुनै सेवा शुल्क ऋण लगानी गर्नै चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्था पहिलो हुन सक्ने बताउनु भयो ।
कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका कृषि तथा सहकारी विभाग प्रमुखसमेत रहनुभएका वडा नं ७ का अध्यक्ष नारायण प्रसाद लम्सालले नगरपालिकाले कृषि चुन वितरण गरिरहेको बताउनु भयो । वडा नं ९ का अध्यक्ष जितबहादुर तामाङले चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्थाले गरेका गतिविधि हेर्दा समाज रुपान्तरण र समाजवादको बाटोमा मुलुक अघि बढेको अनुभुति भएको बताउँदै संस्थालाई जस्तो सुकै सहयोग गर्न आफु र मण्डनदेउपुर नगरपालिका तयार रहेको बताउनु भयो ।
यो नमुना सहकारी रहेकोसमेत वडा अभ्यक्ष तामाङले बताउनु भयो ।राजनीतिज्ञ एवं समाजसेवी विदुरप्रसाद सापकोटा तथा रिता ढकालले संस्था सही बाटोमा रहेको र निरन्तरता जरुरी रहको बताउँदै समृद्ध नेपाल र सुखी नेपाली अभियानमा सहकारीले महत्वपूर्ण भुमिका खेल्न सक्ने बताउनु भयो ।

मण्डन उपत्यका समाजिक उत्थान समाजका अध्यक्ष शेरबहादुर डोटेलले आय आर्जनका कार्यक्रममा सहकारीलाई सहयोग गर्न समाज प्रतिबद्ध रहेको बताउँदै चण्डेनी मण्डन साना किसान कृषि सहकारीका गतिविधि अनुशरणीय रहेको बताउनुभयो ।
मण्डनदेउपुर नगरपालिका सहकारी समन्वय समितका सचिव अम्बिका ठकुरी, संस्थाका सल्लाहकार हरिप्रसाद नेपाल, नौबिसे कृषि सहकारीका अध्यक्ष शम्भुप्रसाद पराजुली सम्मानित व्यक्तित्वहरु चण्डेनी मण्डन साना किसान कृषि सहकारीका संस्थापक उपाध्यक्ष एवं जेष्ठ नागरिक सम्मानबाट सम्मानित व्यक्तित्व दामोदरप्रसाद नेपाल, मैया नेपाललगायतले धारणा राख्नुभएको थियो ।
सो अवसरमा संस्थाका अध्यक्ष सुमन नेपालले सहकारी सबैको साझा चौतारी भएकाले दुःख सुखको साथी हुन सक्नुपर्नेमा जोड दिनुभयो । कसैले पनि व्यक्तिगत लाभ भन्दा सबैको सुविधा र सेवा केमा हुन्छ भन्नेमा विचार पुर्याउन आग्रह गर्दै मैले मात्र सबै सुबिधा पाउनु पर्छ भन्ने मानसिकता त्याग्न सबैमा आग्रह गर्नुभयो ।
संस्थामा ५९५ जना सदस्य आवद्ध रहेको जानकारी दिदै अध्यक्ष नेपालले आधुनिक कृषि प्रविधि अध्ययनकालागि शेयर सदस्यका छोराछोरी इजरायलमा पठाईएको र निरन्तरता दिनेसमेत बताउनुभयो ।
लेखा सुपरीवेक्षण समितिका संयोजक रामकृष्ण नेपालले संस्था आर्थिक पारदर्शिता, नीति, विधि र प्रविधिमा चलेको जानकारी दिनुभयो ।
७२ जना जेष्ठ नागरिकलाई सिरक प्रदान गरि सम्मान गरिएको कार्यक्रममा २६ जना संस्थापक शेयर सदस्यलाई सम्मान गरिएको थियो । रिता माझीले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी चम्फा जोगी, उत्कृष्ट कृषक सम्मानबाट मिनाकुमारी नेपाल (सम्झना) तथा उत्कृष्ट समुह, समुह नं १४ डडालीथोक सम्मानित भएका थिए ।
मेहनत तथा इमान्दारिताकासाथ काम गरेको भन्दैं संस्थाले लेखापाल जानुका माझीलाई कदरपत्र प्रदान गरेको थियो ।
संस्थाका उपाध्यक्ष विमला श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रममा शेयर सदस्यलगायत नागरिक समाजको उल्लख्य उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend