काठमाडौं १६,मंसिर । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन श्रम कार्यालयमा गएर घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । वैदेशिक रोजगार विभागले आइतबारदेखि अनलाइन फारम भरेर ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली नम्बरका आधारमा पालो आउने व्यवस्था गरेसँगै सेवाग्राहीलाई घण्टौँ लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको हो ।
विभागले आइतबारदेखि विराटनगरबाहेक छवटा श्रम कार्यालयबाट ई–टोकन वा विद्युतीय पालो प्रणाली शुरू गरेको छ । मङ्सिर १ गतेदेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली शुरू गरेको हो । विराटनगर श्रम कार्यालयको ठाउँ सानुपर्ने भएकाले यो प्रक्रिया एक÷दुई दिन ढिला शुरू हुने विभागले जनाएको छ ।
विभागका महानिर्देशक भीष्मकुमार भुसालले वैदेशिक रोजगारीमा जान चाहने युवाको प्रक्रियागत काम सरल र व्यवस्थित गराउने उद्देश्यले विद्युतीय पालो प्रणाली कार्यान्वयनमा ल्याएको जानकारी दिए ।
उनका अनुसार उक्त प्रणालीअन्तर्गत सेवाग्राहीले श्रम स्वीकृतिका लागि अनलाइनमार्फत फाराम पेस गर्ने्बित्तिकै निजको श्रम स्वीकृति लिने पालो कुन दिन पर्छ भन्ने थाहा हुने छ ।
सेवाका लागि सेवाग्राहीले जुन कार्यालयमा छिटो पालो आउँछ त्यहाँबाट सेवा लिनसक्ने भन्दै महानिर्देशक भुसालले भने, ’पर्वतबाट आउने सेवाग्राही हुनुहुन्छ भने काठमाडौँभन्दा पोखरामा छिटो पालो आयो भने त्यहीबाट लिन सक्नुहुन्छ वा काठमाडौँबाट फाराम भरेको व्यक्तिले काठमाडौँमा तीन दिनपछि मात्रै पालो आउने भो तर बुटवल जाँदा भोलि नै पालो आउँछ र निजलाई जरुरी छ भने पुनः श्रम स्वीकृति त्यहीँबाट लिन सक्नुहुन्छ, नयाँका लागि त काठमाडौँको ताहचल आउनुपर्छ, अन्य प्रदेशमा यो व्यवस्था छैन ।’ गोरखापत्र दैनिकमा खबर छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend