पोखरा १५, मंसिर । कास्की २ को प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) की विद्या भट्टराई निर्वाचित भएकी छन् । भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् । गत वर्ष फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उक्त क्षेत्र रिक्त रहँदै आएको थियो ।
समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२ मत ल्याएका छन् । राप्रपाका रोमबहादुर भण्डारीले ११ सय ५३ मत र साझा पार्टीका रजनी केसीले ९४२ मत पाइन । ४५ हजार ५६३ मत खसेकोमा ६ सय मत बदर भएको थियो ।
यस्तो छ विद्याको राजनीति यात्रा
कास्की २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भट्टराई तत्कालीन दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका श्रीमती हुन् । स्व. अधिकारी तत्कालीन एमालेको भातृ संगठन अनेरास्ववियुको महासचिव हुँदा उनी सचिव थिइन् ।
रवीन्द्रको राजनीतिक राजमार्ग फराकिलो बनाउन जीवन संगिनी भट्टराई दुई दशकअघि नै सक्रिय राजनीतिबाट टाढिएकी भए पनि अधिकारीको अवसानसँगै उनले लगातार ३ पटक जितेको कास्की २ का जनताले उनकै सट्टा जनप्रतिनिधिको रुपमा संसद प्रवेश गराउँदै छन् ।
भट्टराई ०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्वविययु सभापतिकी प्रत्यासी थिइन् । हाल प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा पुगेकी विद्या योगेश भट्टराई अध्यक्ष र रविन्द्र अधिकारी कोषाध्यक्ष हुँदा महिला विभाग प्रमुख थिइन् ।
०५५ सालमा बिहे भएपछि रवीन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निष्कृय भइन् । अनेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि विद्याले घर व्यवहार धान्दै दुई छोरा विराज र स्वराजलाई हुर्काउने र आफ्नो प्राज्ञिक योग्यता बढाउनेमा ध्यान दिइन् । समाजशास्त्रमा एमफिल उनी कास्की २ को निर्वाचनमा होमिने निश्चित हुनुअघिसम्म रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रध्यापनरत थिइन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend