रुपन्देही १२, मंसिर । प्रदेश नं ५का मुख्यमन्त्री शङ्कर पोखरेलले अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । बिहीबार शोक विज्ञप्ति जारी गर्दै उनले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
उनले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नंबरको यात्रुवाहक बस बुधबार अपराह्न सन्धिखर्क नगरपालिका(६ नरपानी रातामाटेमा दुर्घटना हुँदा १९ यात्रुको निधन र १६ यात्रु घाइते भएको खबरले स्तब्ध बनाएको बताएका छन्।
बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण र रोकथाम गर्ने प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्न लागेको बताउँदै मुख्यमन्त्री पोखरेलले यो अभियानलाई सफल बनाउन स्थानीय तह, यातायात व्यवसायी, मजदुरलगायत सबै सरोकारवाला निकायलाई अपिल गरेका छन्।
मुख्यमन्त्री पोखरेलले दुर्घटनालगत्तै उद्धारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय राजनीतिक दलका नेता, कार्यकर्ता र स्थानीय समुदायको सक्रियता र पहलकदमीको उच्च प्रशंसा गर्दै आभार व्यक्त गरेका छन् । रासस 
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend