काठमाडौं । प्रवासमा रहेका नेपालीलाई एउटै संगठनात्मक छातामुनि गोलबद्ध गर्दै संस्थालाई थप व्यवस्थित, प्रभावकारी र आत्मनिर्भर बनाउने एजेन्डासहित प्रभुराम थापाले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी चार वर्षका लागि आफ्नो नेतृत्वको प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्दै थापाले संगठनको एकता, संस्थागत सुदृढीकरण, आर्थिक पारदर्शिता र प्रवासी नेपालीका अधिकारलाई मुख्य चुनावी मुद्दा बनाएका छन् ।
लामो राजनीतिक संघर्ष, ट्रेड युनियन आन्दोलन, संगठन निर्माण र प्रवासमा सामाजिक सेवाको अनुभवलाई आफ्नो नेतृत्वको आधार बनाएका थापाले मञ्चलाई विश्वभर फैलिएका नेपालीको साझा र भरोसायोग्य संगठन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको प्रस्तावित योजनामा संगठन विस्तारदेखि आफ्नै भवन निर्माण, कानुनी दर्ता, नयाँ पुस्ताको सहभागिता र प्रवासी श्रमिकका अधिकारको पैरवीसम्मका विषय समेटिएका छन् ।
लमजुङको साविक मोहोरीया, हाल राइनास नगरपालिका–९ मा २०२८ सालमा जन्मिएका थापा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर हुन् । विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवनमा प्रवेश गरेका उनी २०३९ सालदेखि अनेरास्ववियुमा आबद्ध भएका थिए । २०४७ सालमा प्रतिष्ठानस्तरीय ट्रेड युनियनको अध्यक्ष निर्वाचित भएका थापाले नेस्वाहोमयूको केन्द्रीय सदस्य, सहसचिव र सचिव हुँदै जिफन्ट राष्ट्रिय परिषद् सदस्यको जिम्मेवारी सम्हालेका छन् ।
उनको राजनीतिक यात्रा पञ्चायतविरोधी आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन र २०६२/६३ को जनआन्दोलनसम्म जोडिएको छ । २०६२/६३ को आन्दोलनका क्रममा काठमाडौंको गोंगबुमा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका उनी विभिन्न राजनीतिक आन्दोलनमा पटक–पटक गिरफ्तारसमेत भएका थिए । श्रमिक आन्दोलन र संगठन निर्माणबाट प्राप्त अनुभवलाई प्रवासमा नेपाली समुदायलाई संगठित गर्ने अभियानमा उपयोग गर्दै आएको उनको भनाइ छ ।
अमेरिकामा सन् २००८ देखि राजनीतिक तथा सांगठनिक गतिविधिमा सक्रिय थापा सन् २०१३ मा प्रवासी नेपाली मञ्च अमेरिकाको पहिलो राष्ट्रिय अधिवेशनबाट महासचिव निर्वाचित भएका थिए । सन् २०१७ को अधिवेशनबाट बहुमतसहित अध्यक्ष निर्वाचित भएपछि उनले अमेरिकामा संगठनको नेतृत्व गरेका थिए । अन्तर्राष्ट्रिय कमिटीका संस्थापक सदस्यमध्ये एक रहेका उनले अमेरिका महादेश इन्चार्ज तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालिसकेका छन् । हाल उनी अन्तर्राष्ट्रिय कमिटीको उपसचिव तथा संगठन विभाग उपप्रमुख छन् ।
थापाले अध्यक्षमा निर्वाचित भए संगठनलाई भाषण र औपचारिक कार्यक्रममा सीमित नराखी संस्थागत संरचना र कार्यसम्पादनका आधारमा अघि बढाउने योजना बनाएका छन् । विश्वभर सदस्यता विस्तार, महादेशीय तथा राष्ट्रिय कमिटीहरूको सुदृढीकरण र विभिन्न पेसा, व्यवसायमा आबद्ध प्रवासी नेपालीलाई संगठनमा जोड्ने उनको प्राथमिकता छ । विशेषगरी विदेशमा जन्मिएका र हुर्किएका नेपाली युवालाई संगठनमा आकर्षित गर्दै नेतृत्व विकास र निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने योजना उनले अघि सारेका छन् ।
उनको चुनावी कार्ययोजनामा नेपालमा प्रवासी नेपाली मञ्चको आफ्नै भवन खरिद गर्ने विषय पनि प्रमुखताका साथ समेटिएको छ । हाल भाडामा सञ्चालन भइरहेको कार्यालयलाई आफ्नै भवनमा स्थानान्तरण गर्ने, अन्तर्राष्ट्रिय, महादेशीय तथा राष्ट्रिय कमिटीलाई सम्बन्धित मुलुकको कानुनअनुसार दर्ता गर्ने र संस्थाको आर्थिक गतिविधिलाई पारदर्शी बनाउने उनको प्रतिबद्धता छ । नियमित सांगठनिक तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरी सदस्यप्रति संस्थालाई जवाफदेही बनाउने योजना पनि उनले प्रस्तुत गरेका छन् ।
प्रवासी नेपालीका हकहित र श्रमिक अधिकारलाई उनले आफ्नो उम्मेदवारीको अर्को महत्त्वपूर्ण आधार बनाएका छन् । विदेशमा कार्यरत नेपाली श्रमिकले उचित पारिश्रमिक, रोजगारीको सुरक्षा, सामाजिक संरक्षण, सुरक्षित कार्यस्थल र सम्मानजनक श्रम अधिकार पाउनुपर्ने भन्दै त्यसका लागि सम्बन्धित देशका निकाय र नेपाली सरकारसँग प्रभावकारी पैरवी गर्ने उनको योजना छ ।
त्यस्तै, वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार र गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सरकार, राजनीतिक दल, संसद् तथा नीतिनिर्माण तहमा पहल गर्ने प्रतिबद्धता उनले जनाएका छन् । विदेशमा आर्जित ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको विकाससँग जोड्दै लगानी तथा उद्यमशीलताका अवसर विस्तार गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन् । संगठनभित्र सामूहिक नेतृत्व, जिम्मेवारीको बाँडफाँट र संस्थागत निर्णय प्रणाली विकास गर्नुपर्ने उनको जोड छ । व्यक्तिगत प्रभावभन्दा संगठनको विधि र पद्धतिलाई प्राथमिकता दिने, आर्थिक रूपमा आत्मनिर्भर बनाउने र प्रवासी नेपालीका साझा सवालमा प्रभावकारी आवाज उठाउने संस्थाका रूपमा मञ्चलाई स्थापित गर्ने उनको लक्ष्य छ ।
खेलकुद र सामाजिक सेवामा समेत सक्रिय थापा करातेका दोस्रो डान ब्ल्याक बेल्ट हुन् । नेपाल आइकिडो राष्ट्रिय संघका संस्थापक उपाध्यक्ष रहेका उनी अमेरिकामा व्यवसाय सञ्चालन गर्नुका साथै बाना बोर्ड अफ ट्रस्टीका अध्यक्ष, बाल्टिमोर नेप्लिज क्लबका प्रथम उपाध्यक्ष, भिजन क्लब इन्टरनेसनलका निर्देशक तथा विभिन्न सामाजिक संस्थामा आबद्ध छन् ।
विद्यार्थी राजनीति, श्रमिक आन्दोलन, प्रवासमा संगठन निर्माण र सामाजिक सेवाको अनुभवलाई अन्तर्राष्ट्रिय नेतृत्वमा उपयोग गर्ने दाबी गर्दै अध्यक्षका प्रत्याशी थापाले आगामी चार वर्षलाई संगठनको संरचना, आर्थिक आधार र प्रभाव विस्तारको अवधिका रूपमा अघि बढाउने योजना सार्वजनिक गरेका छन् । अब उनको उम्मेदवारीले मञ्चभित्र नेतृत्व चयनको प्रतिस्पर्धासँगै संगठनको भावी दिशा, प्राथमिकता र कार्यान्वयन क्षमताबारे पनि बहसलाई अघि बढाउने देखिन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend