काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०८३ साल कार्तिक १७ गते ललितपुरमा आयोजित सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै शेयरधनीलाई १२ करोड ४७ लाख रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
कम्पनीका अध्यक्ष डा. वसन्त गिरीको सभापतित्वमा सम्पन्न साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८२/०८३ को प्रतिवेदन पारित गरेको छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पनि सभाबाट पारित भएका छन् ।
सभाले सञ्चालक समितिको प्रस्तावअनुसार शेयरधनीलाई करसहित कुल १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
त्यसैगरी, सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा सञ्चालक समितिको १२१औँ बैठकबाट भएको निर्णयलाई सभाले अनुमोदन गरेको छ । सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचनसमेत सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८२/०८३ मा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गरिएको खर्चलाई अनुमोदन गरेको छ । साथै, अर्थपूर्ण कारोबार तथा त्यसमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि पारित भएको छ ।
यसैगरी, दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा प्रदान गरिएको संस्थागत जमानतलाई समेत साधारण सभाले अनुमोदन गरेको कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend