टेक बहादुर पुन मगर,
२०८३ सालको दशैँ मेरो लागि खुसी र उमङ्गभन्दा बढी पीडा, चिन्ता र दुःख बोकेर आएको छ। हरेक वर्ष दशैँ आउँदा घरपरिवार, आफन्त,साथीभाइसँग खुसी साटासाट गर्ने, नयाँ आशा र उत्साहका साथ चाडपर्व मनाउने रहर हुन्छ। तर यस वर्ष प्रकृतिले हाम्रो देश र नेपाली जनजीवनमाथि एकपछि अर्को गर्दै यस्ता चोटहरू दियो, जसले मनभित्रको खुसी नै खोसेर लग्यो।
२०८३ साल भदौ १० गतेको भोटेकोसी बाढीले दिएको पहिलो ठूलो र अकल्पनीय चोटको पीडा सेलाउन नपाउँदै असोज ८, ९, १० र ११ गतेको अविरल वर्षा, बाढीपहिरो र हावाहुरीले बाग्लुङ, म्याग्दी, लमजुङ, मनाङलगायत देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्यायो। कतिको घरबार उजाडियो, कतिको वर्षभरि खाने अन्नबाली नष्ट भयो, कतिको व्यवसाय र जीविकोपार्जनको आधार नै गुम्यो। कतिपय परिवारको जीवनमा यस्तो बज्रपात पर्यो, जसको पीडा शब्दमा व्यक्त गर्नसमेत कठिन छ।
दुःखको शृङ्खला त्यतिमै रोकिएन। असोज २५ गते, बडादशैँको सुरुवातकै दिन घटस्थापनामा उत्तरी गोरखाको चुमनुब्री, माछाखोला, आरुघाट तथा मनास्लु ट्रेक क्षेत्रले फेरि अर्को ठूलो प्राकृतिक विपत्तिको सामना गर्नुपर्यो। यी क्षेत्रका बाटोघाटो, पूर्वाधार र पर्यटनसँग जोडिएका गतिविधिमा परेको क्षतिले स्थानीय बासिन्दा, पर्यटन व्यवसायी, मजदुर, गाइड, भरिया तथा साना उद्यमीहरूको भविष्यलाई नै अनिश्चित बनाइदिएको छ।
नेपालको पर्यटन क्षेत्र हाम्रो देशको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण आधार हो। तर आज पर्यटनका प्रमुख गन्तव्यहरू नै प्राकृतिक विपत्तिको चपेटामा परेका छन्। लाङटाङ ट्रेक, अन्नपूर्ण ट्रेक र मनास्लु ट्रेक क्षेत्रमा परेको असरले पर्यटन व्यवसायीको मनोबल कमजोर बनाएको छ। रोशी खोलाको वितण्डाले रोशी क्षेत्रको डाइभर्सनमा पुर्याएको क्षतिको प्रभावले एभरेस्ट ट्रेक जाने मार्ग र समग्र पर्यटन गतिविधिलाई समेत असर पारेको छ।
पर्यटन भनेको केवल घुमफिर र मनोरञ्जन मात्र होइन। यससँग हजारौँ परिवारको चुलो बल्छ, सयौँ व्यवसाय चल्छन् र हजारौँ श्रमिकको भविष्य जोडिएको हुन्छ। पर्यटक नआउँदा होटल व्यवसायी मात्र होइन, यातायात व्यवसायी, पदयात्रा गाइड, भरिया, किसान, स्थानीय पसले र अनेकौँ साना व्यवसायीको आम्दानी रोकिन्छ। त्यसैले पर्यटन क्षेत्रमा आएको यो सङ्कट केही व्यवसायीको मात्र पीडा होइन, हजारौँ परिवारको साझा पीडा हो।
म पनि पर्यटन तथा यातायात व्यवसायसँग जोडिएको एउटा सामान्य व्यवसायी हुँ। व्यवसायमा नाफा–घाटा हुनु स्वाभाविक हो। तर आफ्नै देशका दाजुभाइ, दिदीबहिनीहरू विपत्तिमा परेको बेला, कसैको घर उजाडिएको बेला, कसैले परिवार गुमाएको बेला र कसैले वर्षौँको मेहनतबाट बनाएको सपना भत्किएको बेला मन कसरी रमाउन सक्छ र?
एकातिर चाडपर्वको रौनक छ, अर्कोतिर विपत्तिले थला पारेका बस्तीहरू छन्। एकातिर घरघरमा जमरा राखिएका छन्, अर्कोतिर कसैको घरमा चुलो बाल्नसमेत कठिन भइरहेको छ। कतै टीका र आशीर्वादको तयारी छ, कतै भत्किएका बाटा, बगेका पुल र उजाडिएका बस्ती हेरेर भविष्यको चिन्ता गर्नुपर्ने अवस्था छ।यस्तो अवस्थामा मेरो मनले मलाई दशैँ मनाउन दिइरहेको छैन। जब देश रोइरहेको छ, तब म कसरी हाँसूँ? जब हजारौँ परिवार पीडामा छन्, तब म कसरी उत्सव मनाऊँ? यो प्रश्नले मलाई बारम्बार झकझकाइरहेको छ।
म सबैले दशैँ नमनाऊन् भन्ने चाहन्नँ। दशैँ हाम्रो संस्कृति, परम्परा, पारिवारिक एकता र आपसी सद्भावको महान् पर्व हो। त्यसैले दशैँ मनाउनुहुने सम्पूर्ण पूजनीय आमा–बुबा, दाजुभाइ, दिदीबहिनी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
यस वर्षको दशैँमा टीका र जमरासँगै विपत्तिमा परेका नेपालीहरूको पीडा पनि सम्झौँ। सकेको सहयोग गरौँ, दुःखमा परेकालाई साथ दिऔँ र पुनर्निर्माणमा हातेमालो गरौँ। किनकि चाडपर्वको वास्तविक खुसी अरूको अनुहारमा मुस्कान फर्काउन सक्दा अझ अर्थपूर्ण हुन्छ।
प्राकृतिक विपत्तिले हामीलाई धेरै कुरा सिकाएको छ। अब सुरक्षित पूर्वाधार निर्माण, जोखिमको वैज्ञानिक अध्ययन, वातावरण संरक्षण, विपद् पूर्वतयारी र प्रभावित समुदायको पुनर्स्थापनालाई प्राथमिकता दिन आवश्यक छ। विपत्तिपछि उद्धार र राहत मात्र होइन, प्रभावित परिवारलाई फेरि आफ्नै खुट्टामा उभिन सक्ने वातावरण बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ।
अन्त्यमा, यो कठिन समय छिट्टै पार होस्। विपत्तिमा ज्यान गुमाउनुभएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना तथा घाइते र प्रभावित सबैमा शीघ्र स्वास्थ्यलाभ र पुनःस्थापनाको कामना गर्दछु। टेक ब पुन ( मगर )प्रबन्ध निर्देशक: टाइगर ट्राभल एन्ड टुर्स प्रा. लि
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend