ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारणसभा शुक्रबार सुरु भएको छ। संघको नयाँ नेतृत्व चयनका लागि सुशन महर्जनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।हाल संघका वरिष्ठ उपाध्यक्ष रहेका महर्जनले आगामी असोज २३ र २४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका हुन् । संघको निर्वाचन भोलि असोज २४ गते हुने कार्यतालिका रहेको छ।
महर्जनले संघलाई परिणाममुखी र दूरदर्शी संस्था बनाउने संकल्प व्यक्त गरे । ‘संघलाई केवल कार्यक्रममा सीमित नराखी मापनयोग्य नतिजा दिने संस्थाका रूपमा अघि बढाउनेछु,’ उनले भने, ‘साना तथा ठूला व्यवसायीका कर, नापतौल र कानुनी अडचन लगायतका समस्या फुकाउन र पाटनको ऐतिहासिक कला, हस्तकला र संस्कृतिलाई पर्यटकीय समृद्धिसँग जोड्दै ‘क्रियटिभ इकोनोमी नेटवर्क’ निर्माण गर्ने उनको प्रतिबद्धता छ । ललितपुरका उत्पादनलाई ‘मेड इन ललितपुर’मार्फत विश्व बजारमा ब्रान्डिङ गरिने उनले बताए ।
ललितपुरको बजारलाई प्रविधिसँग र उत्पादनलाई बजारसँग जोड्ने मुख्य आधार बनाइने उनको योजना छ । ‘युवा तथा महिला उद्यमीलाई स्टार्टअप र नवप्रवर्तनमार्फत व्यवसायमा अगाडि बढाउँदै संस्थाको आर्थिक प्रशासनमा पूर्ण पारदर्शिता र वित्तीय अनुशासन कायम गर्नेछु,’ उनले भने ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend