आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

प्रेमकुमार खत्रीद्वारा कांग्रेस १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

प्रेमकुमार खत्रीद्वारा कांग्रेस १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै प्रेमकुमार खत्रीले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। खत्रीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसलाई समयको परिवर्तनसँगै अझ जनमुखी, गतिशील, आधुनिक र सशक्त संगठनका रूपमा अघि बढाउने आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

‘VISION : PREM’ अवधारणासहित उम्मेदवारी घोषणा गरेका खत्रीले आफ्नो राजनीतिक दृष्टिकोणलाई जनता पहिलो, संगठन तथा राजनीतिमा सुधार, युवा र जनताको सशक्तीकरण तथा योग्यता र योगदानमा आधारित नेतृत्व गरी चार आधारमा प्रस्तुत गरेका छन्।

खत्रीले राजनीतिमा पद, व्यक्ति वा गुटभन्दा जनतालाई केन्द्रमा राख्नुपर्ने बताएका छन्। जनताको आवाज, आवश्यकता र अधिकारलाई प्राथमिकतामा राख्दै जनउत्तरदायी कांग्रेस निर्माण गर्ने आफ्नो मुख्य संकल्प रहेको उनको भनाइ छ। कांग्रेसले जनताको दैनिक जीवनसँग जोडिएका सवाललाई प्राथमिकतामा राखेर जनविश्वास थप मजबुत बनाउनुपर्ने उनले उल्लेख गरेका छन्।

संगठनात्मक सुधारलाई पनि उनले आफ्नो उम्मेदवारीको प्रमुख एजेन्डा बनाएका छन्। समय र समाज परिवर्तन भइसकेकाले कांग्रेसको संगठनात्मक संरचना र राजनीतिक कार्यशैलीमा पनि नयाँ सोच, प्रविधि, संवाद, पारदर्शिता र सहभागितालाई जोड्नुपर्ने खत्रीको धारणा छ। वडा तहदेखि केन्द्रसम्मको संगठनलाई थप सुदृढ, व्यवस्थित, सक्रिय र गतिशील बनाउन आफूले भूमिका निर्वाह गर्ने उनले बताएका छन्।

त्यस्तै, युवा सशक्तीकरणलाई कांग्रेसको आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा खत्रीले अघि सारेका छन्। युवालाई केवल राजनीतिक दलका समर्थकका रूपमा नभई परिवर्तनका नेतृत्वकर्ता बनाउनुपर्ने उनको धारणा छ। युवा सीप, उद्यम, रोजगारी, प्रविधि, कृषि, पर्यटन र उत्पादनसँग जोडिनुपर्ने भन्दै विदेशबाट फर्किएका युवाको ज्ञान, सीप र पूँजीलाई स्वदेश निर्माणमा उपयोग गर्ने वातावरण बनाउन राजनीतिक पहल आवश्यक रहेको उनले बताएका छन्।

नेतृत्व चयनमा योग्यता, क्षमता र योगदानलाई प्राथमिकता दिनुपर्नेमा पनि खत्रीले जोड दिएका छन्। नेतृत्वको आधार पहुँच, नाता वा गुट नभई योग्यता, क्षमता, योगदान, इमानदारी र जनविश्वास हुनुपर्ने उनको भनाइ छ। पार्टीमा योगदान गर्ने कार्यकर्ताको सम्मान गर्दै नयाँ पुस्ताको क्षमता र ऊर्जालाई अवसर दिने राजनीतिक संस्कार विकास गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

खत्रीले आफ्नो उम्मेदवारीलाई केवल पद प्राप्तिको प्रयासका रूपमा नभई जिम्मेवारी बहन गर्ने यात्राका रूपमा प्रस्तुत गरेका छन्। गत निर्वाचनको अनुभवले आफूलाई जनताको भावना, कार्यकर्ताको अपेक्षा तथा संगठनका चुनौतीलाई नजिकबाट बुझ्ने अवसर दिएको उल्लेख गर्दै उनले उक्त अनुभवलाई आगामी दिनमा कांग्रेसलाई अझ बलियो, जनमुखी र आधुनिक बनाउन उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

आफ्नो आधिकारिक पेजमा उम्मेदवारी घोषणा गर्दै खत्रीले कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी गराउँदै महाधिवेशन प्रतिनिधिहरू तथा कांग्रेसजनसँग साथ, सुझाव र विश्वासको अपेक्षा गरेका छन्। पछिल्लो समय कांग्रेसभित्र नेतृत्व, संगठन सुधार र पुस्तान्तरणको बहस चलिरहेका बेला खत्रीले ‘VISION : PREM’ मार्फत जनमुखी राजनीति, संगठनात्मक सुधार, युवा सशक्तीकरण र योग्यतामा आधारित नेतृत्वलाई आफ्नो चुनावी प्राथमिकताका रूपमा अघि सारेका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend