काठमाडौं । चःमति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभा २०८३ असोज १७ गते सम्पन्न भएको छ। संस्थाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा, आर्थिक तथा प्रगति प्रतिवेदनमाथि छलफल, आगामी कार्यदिशा तय तथा नयाँ सञ्चालक समिति र लेखा समिति चयन गर्दै साधारण सभा सम्पन्न भएको हो।
साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को लेखा समितिको वार्षिक प्रतिवेदन लेखा संयोजकले प्रस्तुत गरेका थिए। त्यस्तै, आर्थिक प्रतिवेदन कोषाध्यक्ष, वार्षिक प्रगति प्रतिवेदन सचिव तथा सञ्चालक समितिको वार्षिक प्रतिवेदन अध्यक्षले प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनमाथि सदस्यहरूले छलफल गरी आवश्यक सुझावसहित पारित गरेका छन्।
सभाले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट सदस्यलाई वितरण गरिने लाभांश पारित गर्नुका साथै आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने निर्णयसमेत गरेको छ। सहकारीको आगामी कार्ययोजना, संस्थागत सुशासन तथा सदस्यहितका विषयमा समेत साधारण सभामा छलफल भएको थियो।

साधारण सभाले संस्थाको पाँचौँ कार्यसमिति तथा लेखा समितिको निर्वाचनसमेत सम्पन्न गरेको छ। निर्वाचनबाट चःमति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा मन्दिरा महर्जन चयन भएकी छन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र महर्जन, सचिवमा पूर्णकाजी ज्यापु र कोषाध्यक्षमा दिनेश महर्जन चयन भएका छन्।
त्यस्तै, सञ्चालक समितिका सदस्यहरूमा कमला महर्जन, शंकर महर्जन र प्रकाश महर्जन चयन भएका छन्। लेखा समितिको संयोजकमा मिना कुमारी श्रेष्ठ तथा सदस्यहरूमा रवि महर्जन र सानु मैया महर्जन चयन भएका छन्।
साधारण सभाले निर्णय पुस्तिका प्रमाणित गर्न सदस्य चयन गर्नुका साथै विविध विषयमा समेत छलफल गरेको थियो। संस्थाले सदस्यहरूको आर्थिक हित, सहकारीको संस्थागत विकास र पारदर्शितालाई प्राथमिकतामा राख्दै आगामी दिनमा आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। नयाँ कार्यसमिति चयनसँगै सहकारीको आगामी कार्यकाललाई अझ व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend