आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

घनश्याम गिरी केन्द्रीय सदस्य पदका उम्मेदवार 

घनश्याम गिरी केन्द्रीय सदस्य पदका उम्मेदवार 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौं क्षेत्र नं. १० बाट केन्द्रीय सदस्य पदका उम्मेदवार घनश्याम गिरीले परम्पराको सम्मान गर्दै परिवर्तनको संकल्पसहित पार्टीलाई थप सबल, गतिशील र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने मूल नारासहित गिरीले महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीका लागि समर्थन र सहयोगको अपिल गरेका छन् । उनले नेपाली कांग्रेसको गौरवपूर्ण इतिहास, लोकतान्त्रिक मूल्य, राजनीतिक संस्कार र संगठनात्मक परम्परालाई संरक्षण गर्दै बदलिँदो समय र पुस्ताको अपेक्षाअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
गिरीले कांग्रेसलाई केवल निर्वाचनका बेला सक्रिय हुने राजनीतिक दलका रूपमा नभई जनताको सुख–दुःखमा निरन्तर जोडिने, युवाको भविष्यप्रति जिम्मेवार बन्ने र मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणको नेतृत्व गर्ने शक्तिका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन् । उनका अनुसार कांग्रेसभित्र अनुभव र ऊर्जाबीचको समन्वय, पुरानो पुस्ताको योगदानको सम्मान र नयाँ पुस्ताको नेतृत्व क्षमतालाई उचित स्थान दिन सकिए पार्टी अझ बलियो बन्न सक्छ ।
‘जीत, गति, जनतन्त्र’लाई आफ्नो अभियानको मूल भाव बनाएका गिरीले लोकतन्त्रको रक्षा, पार्टी संगठनको सुदृढीकरण र जनताको अधिकार तथा अपेक्षालाई केन्द्रमा राखेर कांग्रेसलाई नयाँ गतिमा अघि बढाउने बताएका छन् । उनले कांग्रेसभित्र आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउँदै कार्यकर्ता र जनताबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउनुपर्नेमा जोड दिएका छन् ।
गिरीको उम्मेदवारीलाई काठमाडौं क्षेत्र नं. १० मा कांग्रेसको संगठनलाई थप प्रभावकारी बनाउने तथा राष्ट्रिय राजनीतिमा क्षेत्रको आवाजलाई सशक्त रूपमा स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ । उनले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो पक्षमा मतदान गरी परिवर्तन, संगठनात्मक गति र लोकतान्त्रिक मूल्यमा आधारित सबल कांग्रेस निर्माणको अभियानमा साथ दिन आग्रह गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend