काठमाडौं । किरात खालिङ राई उत्थान संघको २५औँ वर्षगाँठका अवसरमा आयोजित रजत उत्सव समारोह काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ। असोज १७ गते आयोजित समारोहमा खालिङ राई समुदायको भाषा, संस्कृति, पहिचान, सामाजिक एकता तथा उत्थानका विषयमा चर्चा गरिएको थियो।
संघका अध्यक्ष बलबहादुर खालिङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा पूर्वरक्षामन्त्री मानवीर राई विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
त्यसैगरी परराष्ट्र मन्त्रालयका सचिव तथा संघका सल्लाहकार एवं अक्षयकोषदाता अमृतबहादुर खालिङ, किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष तथा संघका संरक्षक गौरव राई, नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत मातृभाषा तथा लिपि विभाग प्रमुख सीता तुम्बेवा, त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागका अनुसन्धाता तथा उपप्राध्यापक डा। तारामणि राई, जिमी राई उत्थान समाज सोलुका केन्द्रीय अध्यक्ष यसबहादुर राईलगायतको सहभागिता रहेको थियो।
समारोहमा संघका संस्थापक अध्यक्ष पर्शुराम खालिङ, पूर्वअध्यक्ष अधिवक्ता विषण खालिङलगायत संघका पदाधिकारी, पूर्वपदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रबाट आएका खालिङ राई समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।
२५ वर्षको यात्रामा संघले खालिङ राई समुदायको भाषा, संस्कार, संस्कृति र पहिचान संरक्षण तथा सामाजिक उत्थानका क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै आगामी दिनमा संस्थालाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। वक्ताहरूले समुदायको मौलिक भाषा, लिपि, संस्कार र सांस्कृतिक परम्पराको संरक्षणका लागि नयाँ पुस्तालाई जोड्नुपर्नेमा जोड दिएका थिए।
समारोहमा औपचारिक कार्यक्रमसँगै खालिङ राई समुदायको मौलिक संस्कृति झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुति, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो। सहभागीहरूले सामूहिक रूपमा नाचगान गर्दै रजत उत्सवलाई उल्लासमय वातावरणमा मनाएका थिए।
किरात खालिङ राई उत्थान संघले २५ वर्ष पूरा गरेको अवसरलाई समुदायको विगतको योगदानको समीक्षा र आगामी यात्राको नयाँ संकल्प गर्ने अवसरका रूपमा लिएको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend