काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा न्युजिल्यान्ड क्षेत्रबाट केन्द्रीय सदस्य पदमा रामजीवी पन्थले उम्मेदवारी घोषणा गरेका छन् । पन्थले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि प्रवासमा रहेका नेपालीको आवाज कांग्रेसको नीति निर्माणको केन्द्रसम्म पुर्याउने अभियानका रूपमा प्रस्तुत गरेका छन् ।
प्रवासमा लामो समय कांग्रेसको संगठनसँग जोडिएर काम गरेको अनुभवलाई आधार बनाउँदै पन्थले अब प्रवासी नेपालीका मुद्दालाई पार्टीको मूल राजनीतिक बहसमा स्थापित गर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति इटालीका संस्थापकसमेत रहेका पन्थ जनसम्पर्क समिति जर्मनीबाट १४औँ महाधिवेशनमा महासमिति सदस्य तथा जनसम्पर्क समिति अमेरिकाबाट १५औँ महाधिवेशनका प्रतिनिधिका रूपमा कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका छन् ।
उम्मेदवारी घोषणा गर्दै पन्थले विदेशमा रहेका नेपालीका लागि लामो समयदेखि चर्चामा रहेका नागरिकता, मतदान र करसम्बन्धी विषयलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन् । उनले गैरआवासीय नेपालीले प्राप्त गरेको दोहोरो नागरिकताको अधिकारलाई व्यवहारमै प्रभावकारी बनाउने विषयमा नीतिगत पहल गर्ने बताएका छन् । त्यसैगरी विदेशमा रहेका नेपालीले पनि निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने गरी विदेशबाटै मतदान गर्न सक्ने अधिकारका लागि पार्टीभित्र र राज्यको नीति निर्माण तहमा आवाज उठाउने उनको प्रतिबद्धता छ ।
पन्थले विदेशमा बस्ने नेपालीले भोग्दै आएको दोहोरो करको समस्यालाई पनि आफ्नो एजेन्डामा समेटेका छन् । नेपालसँगको आर्थिक तथा पारिवारिक सम्बन्ध कायम राख्दै विदेशमा रोजगारी, व्यवसाय वा पेशा गरिरहेका नेपालीलाई करसम्बन्धी दोहोरो दायित्वबाट सिर्जना हुने समस्याको नीतिगत समाधान खोज्न पहल गर्ने उनको भनाइ छ ।
उनको उम्मेदवारीको अर्को महत्वपूर्ण पक्ष विश्वभर रहेका नेपाली जनसम्पर्क समितिलाई कांग्रेससँग थप सशक्त रूपमा जोड्ने योजना हो । प्रवासमा कांग्रेसको संगठन विस्तार भए पनि त्यहाँका कार्यकर्ता र नेपाली समुदायका मुद्दा पार्टीको केन्द्रीय निर्णय प्रक्रियासम्म पर्याप्त रूपमा पुग्न नसकेको बहसबीच पन्थले प्रवास र पार्टी नेतृत्वबीचको सम्बन्धलाई थप संस्थागत बनाउने विषयलाई प्राथमिकतामा राखेका छन् ।
पन्थले आफू निर्वाचित भए प्रवासमा रहेका नेपालीको मात्रै नभई वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुक पुगेका नेपालीको विषयलाई समेत प्राथमिकताका साथ उठाउने बताएका छन् । मध्यपूर्वलगायत विभिन्न देशमा रोजगारी गरिरहेका नेपालीले भोगिरहेका श्रम अधिकार, पारिश्रमिक, कार्यस्थल सुरक्षा, कानुनी संरक्षण तथा सामाजिक सुरक्षासम्बन्धी समस्यालाई नीति निर्माणको तहसम्म पुर्याउने उनको प्रतिबद्धता छ ।
उनले विदेशमा रहेका नेपालीलाई केवल रेमिट्यान्स पठाउने नागरिकका रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । प्रवासमा रहेका नेपालीको सीप, पूँजी, अनुभव र अन्तर्राष्ट्रिय सम्पर्कलाई नेपालको आर्थिक तथा सामाजिक विकाससँग जोड्न सकिने भन्दै पन्थले कांग्रेसको आगामी नीतिमा प्रवासी नेपालीलाई थप प्रभावकारी रूपमा समेट्नुपर्ने बताएका छन् ।
अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा न्युजिल्यान्ड क्षेत्रमा कांग्रेसको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा अघि बढेका पन्थले आफ्नो उम्मेदवारीमार्फत प्रवासको अनुभवलाई पार्टीको निर्णय प्रक्रियासँग जोड्ने प्रयास गरेका छन् । उनका प्राथमिकतामा नागरिकताको अधिकार, विदेशबाट मतदान, दोहोरो करको समाधान, जनसम्पर्क समितिको सुदृढीकरण र वैदेशिक रोजगारीमा रहेका नेपालीको अधिकार प्रमुख रूपमा देखिएका छन् । पन्थले महाधिवेशन प्रतिनिधि तथा प्रवासी नेपालीसँग आफ्नो उम्मेदवारीका एजेन्डाबारे छलफल गर्दै साथ, सहयोग र विश्वासका लागि आग्रह गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा प्रवासबाट उठेका मुद्दालाई केन्द्रमा ल्याउने भन्दै उनले आफ्नो अभियानलाई ‘प्रवासको आवाज, नीतिमा प्रतिनिधित्व’ को भावनासँग जोड्ने प्रयास गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend