आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

काठमाडौं–१० बाट २९ महाधिवेशन प्रतिनिधि निर्वाचित, लामाले प्राप्त गरे सर्वाधिक मत

काठमाडौं–१० बाट २९ महाधिवेशन प्रतिनिधि निर्वाचित, लामाले प्राप्त गरे सर्वाधिक मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नं १० बाट केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने २९ जना महाधिवेशन प्रतिनिधिको टुंगो निर्वाचनमार्फत लागेको छ। मंगलबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार क्षेत्रबाट विभिन्न क्लस्टरमा उम्मेदवारी दिएका प्रतिनिधिहरूमध्ये यसअघि कांग्रेसको स्थानीय तथा प्रदेश राजनीतिमा सक्रिय रहेका अधिकांश परिचित अनुहार महाधिवेशन प्रतिनिधिका रूपमा छनोट भएका छन्।

क्षेत्र नं १० का पूर्वसभापति राजेन्द्रकुमार केसी, बागमती प्रदेशसभा सदस्य पुकार महर्जन तथा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल र दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत पनि निर्वाचित भएका छन्। यससँगै क्षेत्रीय राजनीतिमा सक्रिय रहेका नेताहरूले केन्द्रीय महाधिवेशनमा क्षेत्र नं १० को प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।

निर्वाचनमा खुला १० पदतर्फ नेपाल तरुण दल काठमाडौं क्षेत्र नं १० का सभापति ईश्वर लामाले सर्वाधिक मत प्राप्त गरेका छन्। उनले खसेको ६५३ मतमध्ये ४९२ मत प्राप्त गरेका हुन्। त्यस्तै युवा महिला क्लस्टरतर्फ निर्वाचित एलिना महर्जनले ५०० मत प्राप्त गरेकी छन्। उपलब्ध परिणामअनुसार यो निर्वाचनका विभिन्न क्लस्टरमध्ये कुनै पनि उम्मेदवारले प्राप्त गरेको सबैभन्दा बढी मत एलिना महर्जनको रहेको छ।

महिला खुलातर्फ जमुना नकर्मी, रजिता गौतम महर्जन, सीता केसी र सुजना श्रेष्ठ निर्वाचित भएका छन्। अपांगता क्लस्टरतर्फ सुदन महर्जन तथा श्रमिकतर्फ योगेन्द्रकुमार कुँवर निर्वाचित भएका छन्। समानुपातिक आदिवासी जनजाति महिला क्लस्टरतर्फ बसन्ती तामाङ र शारदा महर्जन तथा पेशागत विषयविज्ञतर्फ कृष्णकुमार बस्नेत छनोट भएका छन्।

युवा महिला क्लस्टरतर्फ एलिना महर्जन तथा युवा खुलातर्फ अमन महर्जन र राजेश बलामी निर्वाचित भएका छन्। खुला १० पदमा अच्युत अधिकारी, ईश्वर लामा, घनश्याम गिरी, दीपेन्द्र आचार्य, विकास बस्नेत, मोहन बस्नेत, मिलन विष्ट, राजेन्द्र खत्री केसी, राजेन्द्रकुमार केसी र श्यामबहादुर खत्री निर्वाचित भएका छन्।

दलित क्लस्टरतर्फ सुरेश बस्याल निर्वाचित भएका छन् भने समानुपातिक आदिवासी जनजाति खुलातर्फ अष्टबहादुर महर्जन, कृष्णमान डंगोल र पुकार महर्जनले प्रतिनिधित्व सुरक्षित गरेका छन्। समानुपातिक खस आर्य खुलातर्फ दीपक खनाल र ध्रुव कट्टेल तथा समानुपातिक मधेशी, मुस्लिम र थारु खुलातर्फ आविद हुसेन निर्वाचित भएका छन्।

काठमाडौं क्षेत्र नं १० बाट निर्वाचित यी २९ प्रतिनिधिले अब नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा क्षेत्रको प्रतिनिधित्व गर्नेछन्। निर्वाचन परिणामले क्षेत्रीय तहमा लामो समयदेखि सक्रिय रहेका नेतादेखि युवा, महिला, विभिन्न समुदाय र पेशागत समूहका प्रतिनिधिहरूलाई समेत महाधिवेशनमा स्थान दिएको देखिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend