काठमाडौं । कृषि तथा पशुपन्छी व्यवसायमा लगानी विस्तार गर्दै आएको सौर्य कृषि कम्पनी लिमिटेडले कृषि उत्पादन, पशुपालन तथा खाद्य प्रशोधन उद्योगलाई प्राथमिकतामा राखेर व्यावसायिक गतिविधि अघि बढाएको छ । कम्पनीको दोस्रो वार्षिक साधारणसभा भदौ ३१ गते बुधबार काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा सम्पन्न भएको हो ।
साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीको वित्तीय अवस्था, व्यावसायिक गतिविधि र आगामी लगानी योजनाबारे छलफल गरिएको थियो । लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सभामा प्रस्तुत गरिएका थिए । कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, सर्वसाधारणका लागि शेयर निष्कासन तथा सञ्चालकहरूको बैठक भत्ता, भ्रमण खर्च र अन्य पारिश्रमिकसम्बन्धी प्रस्तावमाथि समेत छलफल भएको कम्पनीले जनाएको छ ।
कम्पनीकी अध्यक्ष सुमित्रा देवी न्यौपानेको मन्तव्यअनुसार कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने उद्देश्यले कम्पनीले विभिन्न स्थानमा उत्पादनमूलक संरचना निर्माण गरी सञ्चालनमा ल्याएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, बस्तिपुरमा स्थापना गरिएको आधुनिक दाना उद्योगबाट कुखुरा, गाई, भैंसी, बाख्रा, माछा तथा बंगुरका लागि दाना उत्पादन तथा बिक्री हुँदै आएको छ । प्रतिघण्टा करिब १० मेट्रिक टन उत्पादन क्षमता रहेको उक्त उद्योगले २०७९ मंसिरदेखि व्यावसायिक उत्पादन सुरु गरेको कम्पनीको प्रतिवेदनमा उल्लेख छ ।
कम्पनीको पूर्ण स्वामित्वमा रहेको गौरीदह नगरपालिका, बेगुनधुरास्थित उन्नत एग्रोकेट प्रालिमा भारतको LARK कम्पनीबाट निर्मित प्रतिघण्टा दुई टन क्षमताका दुईवटा मास दाना कारखाना सञ्चालनमा छन् । त्यस्तै, नवलपुरको गैँडाकोट नगरपालिका–४, अमरापुरीमा जापानी प्रविधिमा आधारित SATAKE कम्पनीको प्रविधिबाट आधुनिक चामल कारखाना सञ्चालन भइरहेको जनाइएको छ । धानमबेसी गुरु कम्पनीसँगको सहकार्यमा श्री सूर्यादय खाद्य उद्योग लिमिटेडमार्फत चामलको व्यापार भइरहेको कम्पनीको प्रतिवेदनमा उल्लेख छ ।
सौर्य कृषि कम्पनीले खाद्य प्रशोधनतर्फ पनि लगानी विस्तार गरेको छ । बर्दियास्थित कारखाना परिसरमा प्रतिघण्टा एक मेट्रिक टन तोरी प्रशोधन गर्ने क्षमताको आधुनिक तेल मिल स्थापना गरी शुद्ध तोरीको अर्गानिक तेल उत्पादन तथा बिक्री गर्दै आएको कम्पनीले जनाएको छ । सोही स्थानमा स्थानीय बासमती धान प्रशोधन गरी अर्गानिक बासमती चामल उत्पादन तथा बिक्रीसमेत भइरहेको छ ।
कम्पनीले पोल्ट्री व्यवसायलाई थप विस्तार गर्ने योजना अघि सारेको छ । विभिन्न फार्ममार्फत ब्रोइलर तथा लेयर्स जातका कुखुरा पालन गर्दै आएको कम्पनीले उत्पादित दानाको बजार विस्तार गर्न ब्रोइलर कुखुरापालक कृषकसँग करारमा कुखुरापालन गर्ने तयारी गरेको छ । सर्लाहीको हरिवनमा कुखुरा फार्म तथा करार खेतीका लागि सम्पर्क कार्यालय स्थापना गरी काम भइरहेको कम्पनीले जनाएको छ । चल्ला, दाना उत्पादन तथा बिक्री, कुखुरा खरिद र प्रशोधनलगायतका गतिविधिलाई एकीकृत रूपमा अघि बढाउने योजना कम्पनीको छ ।
व्यवसाय विस्तारकै क्रममा सौर्य कृषि कम्पनीले भटमास तथा धानको ढुट्टो, पिना र कच्चा तेल उत्पादन गर्ने सोल्भेन्ट कारखाना स्थापना गर्ने तयारी गरेको छ । प्रस्तावित उद्योगमा दैनिक १५० मेट्रिक टन धानको ढुट्टो र २०० मेट्रिक टन भटमास प्रशोधन गर्ने क्षमता रहने कम्पनीले जनाएको छ । निर्माण कार्य २०८३ साल माघ महिनाभित्र सम्पन्न गरी व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।
कम्पनीले कृषि तथा पशुपन्छी क्षेत्रमा नयाँ प्रजाति र प्रविधिको अनुसन्धान तथा विकासलाई समेत आगामी योजनामा समेटेको छ । करार खेती, सामूहिक भैंसीपालन तथा कृषकसँगको सहकार्य विस्तार गर्दै उत्पादन प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्य रहेको जनाइएको छ । कृषकसँग प्रत्यक्ष भेटघाट र अभिमुखीकरण कार्यक्रममार्फत उत्पादन, सेवा तथा आगामी योजनाबारे जानकारी दिने अभ्यासले कम्पनी र कृषकबीचको सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणलाई केन्द्रमा राखेर लगानी विस्तार गरिरहेको सौर्य कृषि कम्पनीले सर्वसाधारणलाई शेयरमा लगानीको अवसर उपलब्ध गराउने उद्देश्यसहित सार्वजनिक शेयर निष्कासनको प्रक्रिया अघि बढाइरहेको जानकारीसमेत साधारणसभामार्फत गराएको छ । कम्पनीका आगामी योजनाले कृषि उत्पादन, पशुपन्छी पालन तथा खाद्य प्रशोधनलाई एउटै व्यावसायिक संरचनामा जोड्ने लक्ष्य लिएको देखिन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend