काठमाडौं । नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी)ले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उद्योग, व्यापार तथा आपूर्ति क्षेत्र सुधारका लागि विभिन्न सुझाव दिएको छ।
महासंघका अध्यक्ष खिमनारायण पराजुलीले जारी गरेको विज्ञप्तिमा मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको समयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व सम्हाल्नु महत्वपूर्ण र चुनौतीपूर्ण जिम्मेवारी भएको उल्लेख गरिएको छ। निजी क्षेत्रसँग सहकार्य, संवाद र विश्वासका आधारमा अघि बढ्दै देशको औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गर्न मन्त्री साह सफल हुने विश्वास महासंघले व्यक्त गरेको छ।
महासंघले पछिल्लो समय उद्योगी–व्यवसायी र सरकारबीच विभिन्न विषयमा देखिएका असमझदारी तथा सार्वजनिक अभिव्यक्तिका कारण निजी क्षेत्रको मनोबलमा असर परेको भन्दै विगतका घटनालाई विवादका रूपमा लम्ब्याउन नहुने जनाएको छ। विगतबाट आवश्यक पाठ सिक्दै सरकार र निजी क्षेत्रबीच विश्वास, सम्मान, संवाद र सहकार्यको नयाँ वातावरण निर्माण गर्नुपर्ने महासंघको धारणा छ।
निजी क्षेत्र सरकारको प्रतिपक्षी नभई आर्थिक विकासको महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै महासंघले उद्योगी–व्यवसायीले रोजगारी सिर्जना, उत्पादन वृद्धि, राजस्व योगदान तथा वस्तु तथा सेवाको आपूर्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाएको छ। त्यसैले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध नियमन र नियन्त्रणमा मात्र सीमित नभई सहकार्य र साझेदारीमा आधारित हुनुपर्ने महासंघको भनाइ छ।
महासंघले तत्काल सम्बोधन गर्नुपर्ने विषयमध्ये ग्यास तथा अत्यावश्यक वस्तुको आपूर्तिलाई पहिलो प्राथमिकतामा राखेको छ। हाल देखिएको ग्यास आपूर्तिसम्बन्धी समस्या तत्काल समाधान गरी उपभोक्ता, उद्योग तथा व्यवसायीलाई सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने भन्दै महासंघले सरकार, नेपाल आयल निगम, ग्यास उद्योगी तथा निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।
त्यस्तै, उद्योगी–व्यवसायीसँग नियमित संवादका लागि मन्त्रालयस्तरमै संस्थागत संयन्त्र निर्माण गर्न महासंघले आग्रह गरेको छ। समस्या उत्पन्न भएपछि मात्र छलफल गर्नेभन्दा समस्या आउनुअघि नै निजी क्षेत्रसँग परामर्श गर्ने व्यवस्था आवश्यक रहेको महासंघको सुझाव छ।
नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेका साना तथा मझौला उद्योगी–व्यवसायीलाई विशेष प्राथमिकता दिनुपर्ने महासंघले जनाएको छ। उनीहरूका लागि विशेष नीति, सहुलियत, वित्तीय पहुँच, बजार व्यवस्थापन तथा प्रविधिमैत्री कार्यक्रम ल्याउनुपर्ने महासंघको माग छ।
महासंघले औद्योगिक लगानीको वातावरण सुधारका लागि नीतिगत स्थिरता, प्रशासनिक सहजता, लगानी सुरक्षा, औद्योगिक पूर्वाधार, विद्युत्, कच्चा पदार्थ, कर तथा भन्सारसम्बन्धी समस्या समाधान गर्नुपर्ने जनाएको छ। स्वदेशी तथा विदेशी लगानीका लागि विश्वासिलो वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्ने उसको भनाइ छ।
त्यसैगरी उद्योग दर्ता, नवीकरण, अनुमति, वातावरणीय स्वीकृति लगायतका प्रशासनिक प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउनुपर्ने भन्दै महासंघले वास्तविक अर्थमा ‘एकद्वार सेवा’ प्रभावकारी बनाउन आग्रह गरेको छ।
व्यापार तथा आपूर्ति प्रणालीमा सुधारका लागि आयात–निर्यात प्रक्रिया सरल बनाउने, भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने, अनावश्यक प्रशासनिक झन्झट हटाउने तथा व्यापार लागत घटाउने नीति अवलम्बन गर्नुपर्ने महासंघले जनाएको छ।
महासंघले आफू सरकारसँग केवल माग राख्ने संस्था नभई समाधानका विकल्पसहित सहकार्य गर्न चाहने जिम्मेवार निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था भएको स्पष्ट पारेको छ। आर्थिक विकासका लागि निजी क्षेत्रसँग सम्बन्धित नीतिनिर्माणमा सरकारलाई आवश्यक सुझाव, तथ्यांक, अध्ययन तथा व्यावहारिक समाधान उपलब्ध गराउन महासंघ तयार रहेको अध्यक्ष पराजुलीले बताएका छन्।
महासंघले ‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’लाई आफ्नो मूल मान्यता रहेको उल्लेख गर्दै त्यसको प्राप्तिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको जनाएको छ।
नवनियुक्त मन्त्री साहको कार्यकालमा मन्त्रालय र निजी क्षेत्रबीच अझ सुमधुर सम्बन्ध स्थापित हुने, उद्योगी–व्यवसायीको मनोबल उच्च हुने तथा देशमा लगानी र औद्योगिक गतिविधि विस्तार हुने विश्वास व्यक्त गर्दै महासंघले ‘सरकार र निजी क्षेत्र मिलेर आर्थिक संकटको समाधान र समृद्धिको आधार निर्माण गरौँ’ भन्ने आह्वानसमेत गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend