काठमाडौं । नेपाल रसिया आर्ट क्लब र सुष्मा आर्ट ग्यालरीको संयुक्त आयोजनामा तथा काठमाडौंस्थित रसियन हाउसको सहकार्यमा ‘ग्रुप पेन्टिङ एक्जिबिसन–२०२६’ सुरु भएको छ ।
काठमाडौंको कमलपोखरीस्थित रसियन हाउसमा बुधबार आयोजित कार्यक्रममा पूर्वमन्त्री पदमा अर्यालले प्रदर्शनीको उद्घाटन गर्नुभयो । कार्यक्रममा नेपाल रसिया आर्ट क्लबकी अध्यक्ष तथा कलाकार सुष्मा राजभण्डारीलगायत कला क्षेत्रका कलाकार, कला–प्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।
प्रदर्शनीमा नेपाली कलाकारहरूले सिर्जना गरेका विभिन्न विधा, शैली र विषयवस्तुका चित्रहरू राखिएका छन् । चित्रकलामार्फत नेपाली कला, संस्कृति, प्रकृति र समाजका विविध पक्षलाई प्रस्तुत गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा पूर्वमन्त्री अर्यालले कला कुनै सीमाभित्र सीमित नरहने बताउँदै यस्ता प्रदर्शनीले कलाकारको सिर्जनशीलता प्रवद्र्धन गर्नुका साथै नेपाल र रुसबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल रसिया आर्ट क्लबकी अध्यक्ष राजभण्डारीले नेपाली कलाकारलाई आफ्नो सिर्जना सार्वजनिक गर्ने अवसर प्रदान गर्नुका साथै नेपाल र रुसबीच कला तथा संस्कृतिको आदानप्रदानलाई निरन्तरता दिने उद्देश्यले संयुक्त प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । उहाँले नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
प्रदर्शनी सेप्टेम्बर ९ देखि २०, २०२६ सम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा बिहान १० बजेदेखि साँझ ५ः३० बजेसम्म सर्वसाधारणले अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ । कमलपोखरीस्थित रसियन हाउसमा आयोजना गरिएको प्रदर्शनीमा कला–प्रेमी तथा सर्वसाधारणलाई सहभागी भई नेपाली कलाकारका सिर्जना अवलोकन गर्न आयोजकले आग्रह गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend