काठमाडौंमा बुधबारदेखि सुरु भएको अन्तराष्ट्रिय सिँचाइ तथा जल निकास नियोग (आइसिआइडी) को ८ औं एसियाली क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमको समापन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले देशको व्यावसायिक तथा औद्योगिक विकासका लागि आधुनिक सिँचाइ प्रणाली अपरिहार्य बताए । मन्त्री पुनले नेपालको अर्थतन्त्रमा कृषिको योगदान बढी भएकाले सिँचाइ प्रणालीलाई वैज्ञानिक तरिकाले सुधार गर्नु पर्ने अहिलेको आबश्यकता भएको बताए । पूर्वअर्थ मन्त्री समेत रहेका पुनले नयाँ संविधानले महत्वाकांक्षी आर्थिक वृद्धिको लक्ष्य राखेकाले यसमा कृषि क्षेत्रको ठूलो भूमिका हुने बताए । नेपालको संविधानले नै किसानको पहिचानलाई उच्च प्राथमिकतामा राखेकोले आधुनिक सिँचाइबाट कृषिमा विविधिकरण एवं व्यावसायिकरणमा सरकारले जोड दिएको उनको भनाई छ । मन्त्री पुनले सिँचाइले कृषिमात्र नभई सिँगो अर्थतन्त्र विकासको आकार बढाउने भन्दै यस्ता सम्मेलनले देशको लागी ठुलो फाईदा पूग्ने बताए ।
सम्मेलनमा बोल्दै सिंचाई बिभागका उपमहानिर्देशक बासुदेव लोहनीले बिश्वमा पानीको संकट बढदै गएको अवस्थामा सिँचाइ, नदी नियन्त्रण एवं कृषियोग्य जमीनबाट पानी निकासका क्षेत्रमा वैज्ञानिक अनुसंधान र प्राविधिक ज्ञान अन्तराष्ट्रियरूपमा आदान–प्रदान गर्ने उदेश्यले सम्मेलन गरेको बताए । यो सम्मेलन उपलब्धीपूर्ण तरिकाले सम्पन्न भएको बताए । सम्मेलनमा जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव माधव बेल्बासेले सिँचाइ तथा जल व्यवस्थापनलाई अन्तराष्ट्रियस्तरमा विकास गर्ने र यस क्षेत्रमा कार्यरत जनशक्तिको अनुसन्धनात्मक र प्राविधिक क्षमता अभिवृद्धि गर्न यो सम्मेलनले ठुलो टेवा पुयाउने अपेक्षा गरे । आइसिआइडीका अध्यक्ष फेलिक्स राइन्डर्सले विश्वको जनसंख्याको दर बढदै गएको वेला यो सम्मेलनले जल व्यवस्थापन गर्ने अनुभव आदानप्रदान भएको बताए ।
सम्मेलनमा बिभिन्न देशबाट आएका बिज्ञहरुले विश्वमा पानी संकट हुदै गएको भन्दै जलवायु परिवर्तन र बढ्दो तापमानका कारण विश्वमा पानीको संकट हुदै गएकोमा चिन्ता व्यक्त गरे । सिँचाइले कृषिमात्र नभई बिश्वमा पानी क्रममा पानीको उपलब्धता, संकट र यसको उपयोगबारे बहस भयो । खडेरी र जलवायु परिवर्तनले पानीका स्रोत सुक्दै र जमिनमुनिको पानी पनि रित्तिँदै गएकाले आउँदा वर्ष यसको सन्तुलित उपयोगमा निकै ध्यान दिनुपर्ने बताइएको छ ।
आइसिआइडी सिँचाइ, नदी नियन्त्रण एवं कृषियोग्य जमीनबाट पानी निकासका क्षेत्रमा वैज्ञानिक अनुसंधान र प्राविधिक ज्ञान अन्तराष्ट्रियरूपमा आदान–प्रदान गर्न गठित अन्तराष्ट्रिय गैर सरकारी संस्था हो । जलस्रोतका क्षेत्रमा काम गर्ने यो संस्था सन् १९५० मा गठन भएको थियो । प्रधान कार्यालय भारतको नयाँ दिल्लीमा रहेको संस्थामा सयभन्दा बढी देश सदस्य रहेको आयोजकले बताएको छ । सन् १९७३ देखि नै यस संस्थाको सदस्यता नेपाल राष्ट्रिय कमिटीले हासिल गरेको हो । तर, हालसम्म नेपालमा आइसिआइडीका कुनै कार्यक्रम सञ्चालन भएका थिएनन् । सम्मेलनमा ३० देशका ७० अनुसन्धान एवं अनुभवसम्बन्धी कार्यपत्र प्रस्तुत गरे । सम्मेलनमा ३० देशका सय भन्दा वढी जलस्रोत तथा सिँचाइसँग सम्बन्धित विदेशी वैज्ञानिक र प्राविधिकको उपस्थिति रहयो । सम्मेलनको उदघाटन बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिईन ।।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend