बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा हेभी इक्युपमेन्ट व्यवसायी महासंघको प्रत्यक्ष उद्धार सहयोग

भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा हेभी इक्युपमेन्ट व्यवसायी महासंघको प्रत्यक्ष उद्धार सहयोग

काठमाडौं । २०८३ भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय प्राकृतिक विपद्बाट क्षतिग्रस्त क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल   हेभी इक्युपमेन्ट व्यवसायी महासंघका प्रतिनिधिहरू प्रत्यक्ष रूपमा खटिएका छन्।

महासंघको प्रतिनिधित्व गर्दै नेत्रबहादुर अधिकारी (भरत) र एनबहादुर राउत उद्धार तथा पुनःस्थापनाका लागि प्रभावित क्षेत्रमा भौतिक रूपमा प्रत्यक्ष संलग्न रहँदै आएका छन्। उनीहरूले उद्धार कार्यमा प्रयोग भइरहेका हेभी इक्युपमेन्ट तथा अन्य मेसिनरीको स्थलगत निरीक्षण, मर्मत तथा सञ्चालनमा आवश्यक प्राविधिक सहयोगसमेत गर्दै आएका छन्।

विशेषगरी विपद्का कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि उद्धार कार्यमा प्रयोग भएका मेसिनहरूमा समस्या आउँदा अधिकारी र राउतले तत्कालै मर्मत तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै उद्धार कार्यलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका निर्वाह गरेको महासंघले जनाएको छ।

२०८३ भदौ १७ गते त्रिशूली–३ ‘ए’ क्षेत्रमा गरिएको उद्धार कार्यमा समेत महासंघका प्रतिनिधिहरू प्रत्यक्ष रूपमा खटिएका थिए। जोखिमपूर्ण भूगोल, क्षतिग्रस्त सडक तथा नदीको तीव्र बहावका बीच मेसिनमार्फत उद्धार तथा अवरोध हटाउने कार्यमा उनीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्राकृतिक विपद्का बेला उद्धार कार्यमा नेपाल  हेभी इक्युपमेन्टको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले आवश्यक मेसिन, जनशक्ति र प्राविधिक सहयोग उपलब्ध गराउन महासंघ प्रतिबद्ध रहेको इक्युपमेन्ट व्यवसायी महासंघका महासचिव महेश कुँवरले बताउनुभयो। उहाँका अनुसार विपद्को समयमा व्यवसायिक क्षेत्रले आफ्नो सामाजिक दायित्वसमेत निर्वाह गर्दै राज्यको उद्धार तथा पुनःस्थापना अभियानमा हातेमालो गर्नुपर्ने आवश्यकता छ।

महासंघले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार मेसिन तथा प्राविधिक जनशक्ति परिचालन गरी उद्धार, अवरोध हटाउने र क्षतिग्रस्त संरचना पुनः सञ्चालनमा सहयोग पुर्‍याउने कार्यलाई निरन्तरता दिने जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend