काठमाडौं । रसुवामा आएको बाढीका कारण सम्पर्कविहीन भएका ओखलढुङ्गा जिल्लाका केही व्यक्तिहरू सकुशल सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ।
नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद रामहरि खतिवडाले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको जानकारीअनुसार प्रकाश राई, गणेशबहादुर पहरी, सन्जिब तामाङ, ईश्वर सुनुवार, खिजिदेम्बाका काडी शेर्पा, कान्छी माया शेर्पा, निमा शेर्पा, दोर्जे शेर्पा, निमा शेर्पा, छ्याङ शेर्पा, सन्तोष अधिकारी र खिजिदेम्बाका प्रज्वल बस्नेत सकुशल सम्पर्कमा आएका हुन्।
बाढी तथा पहिरोका कारण जिल्लाका विभिन्न स्थानमा रहेका केही व्यक्तिहरूसँग सम्पर्क हुन नसकेपछि परिवार तथा आफन्तहरू चिन्तित बनेका थिए। सम्पर्कविहीनमध्ये केही व्यक्ति सकुशल सम्पर्कमा आएपछि आफन्तमा राहतको अनुभूति भएको छ।
पूर्वसांसद खतिवडाले अझै सम्पर्कविहीन रहेका जिल्लाका अन्य व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन्। उनले खोजी तथा उद्धारमा अहोरात्र खटिरहेका सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयवासी तथा सम्बन्धित सबैप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सम्पर्क अवरुद्ध हुँदा सम्पर्कविहीन व्यक्तिको यकिन अवस्था पत्ता लगाउन कठिनाइ भइरहेको छ। त्यसैले सम्भावित प्रभावित व्यक्तिहरूको विवरण संकलन गर्दै खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायहरू सक्रिय रहनुपर्ने देखिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend