काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) ले भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका नदी तटीय क्षेत्रमा उत्पन्न उच्च जोखिम र भएको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले विज्ञप्ति जारी गर्दै विपद्बाट प्रभावित सम्पूर्ण नागरिक तथा परिवारप्रति हार्दिक दुःख, गहिरो सहानुभूति तथा ऐक्यबद्धता व्यक्त गरेको छ। साथै नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, सम्भावित जोखिमबाट सुरक्षित रहन, आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा सम्बन्धित निकायबाट जारी निर्देशनको पूर्ण पालना गर्न अपिल गरेको छ।
संघले हाम्रा नागरिकमाथि विपद् पर्दा जिम्मेवार निजी क्षेत्रका रूपमा प्रभावित नागरिकको साथमा उभिनु सामाजिक उत्तरदायित्व र साझा दायित्व भएको उल्लेख गरेको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघ तथा संघमा आबद्ध सम्पूर्ण व्यवसायी प्रभावित नागरिकको साथमा रहेको स्पष्ट पार्दै नेपाल सरकारको नीति तथा निर्देशन र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी एकद्वार प्रणालीमार्फत राहत, उद्धार तथा आवश्यक आर्थिक एवं मानवीय सहयोगमा सहभागी हुने प्रतिबद्धता जनाएको छ।
विपद् व्यवस्थापन तथा उद्धार कार्यमा संलग्न सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवी संस्था तथा सहयोगी हातहरूप्रति संघले सम्मान र आभार व्यक्त गरेको छ।
विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै संघले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडकखण्ड तथा मुग्लिङ–नारायणगढ सडकखण्डमा अनावश्यक आवतजावत तथा यात्रा नगर्न–नगराउन पनि अनुरोध गरेको छ। सम्बन्धित निकायबाट जारी सुरक्षा निर्देशनको पूर्ण पालना गर्न सम्पूर्ण व्यवसायी, यात्रु तथा आम नागरिकलाई आग्रह गरिएको छ।
संघका महासचिव हिरा बहादुर डाँगी (हरि) द्वारा जारी विज्ञप्तिमा विपद्को यस कठिन घडीमा संयमित, सतर्क र एकताबद्ध बन्न तथा आफू पनि सुरक्षित रही आवश्यक परेका नागरिकलाई सहयोग गर्न सबैमा अपिल गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend