बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पेसागत महासङ्घ नेपालका संस्थापक अध्यक्ष प्रा. हर्ष नारायण धौभडेलको निधनप्रति गहिरो दुःख

पेसागत महासङ्घ नेपालका संस्थापक अध्यक्ष प्रा. हर्ष नारायण धौभडेलको निधनप्रति गहिरो दुःख

काठमाडौं । पेसागत महासङ्घ नेपाल (Confederation of Nepalese Professionals–CONEP) का संस्थापक अध्यक्ष प्राध्यापक हर्ष नारायण धौभडेलको निधनप्रति महासङ्घले गहिरो दुःख व्यक्त गरेको छ।
महासङ्घका अनुसार ९१ वर्षको उमेरमा प्रा. धौभडेलको २०८३ साल श्रावण ३० गते क्यानडाको क्यालगरीमा निधन भएको हो। उहाँको निधनले नेपालको पेसागत क्षेत्र तथा राष्ट्रसेवामा समर्पित एक अनुभवी र अग्रज व्यक्तित्व गुमाएको महासङ्घले जनाएको छ।
महासङ्घले जारी गरेको शोक सन्देशमा स्व. धौभडेलले नेपाल, नेपाली जनता तथा समग्र पेसाकर्मी समुदायप्रति पुर्‍याउनुभएको अविस्मरणीय योगदानको उच्च मूल्याङ्कन र कदर गरिएको छ। उहाँले आफ्नो जिम्मेवारीका क्रममा राष्ट्र र जनताप्रति देखाउनुभएको समर्पण सधैं स्मरणीय रहने महासङ्घको भनाइ छ।
स्व. धौभडेलले नेपालको तर्फबाट भारत तथा भुटानका लागि राजदूतको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो। कूटनीतिक क्षेत्रमा उहाँले निर्वाह गर्नुभएको भूमिका तथा राष्ट्रको हितका लागि पुर्‍याउनुभएको योगदान महत्वपूर्ण रहेको महासङ्घले जनाएको छ।
पेसागत महासङ्घ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालले स्व. धौभडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनले महासङ्घ परिवारलाई अपूरणीय क्षति पुगेको बताएका छन्। महासङ्घले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेको छ।
स्व. हर्ष नारायण धौभडेलप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend