काठमाडौं । रसुवा जिल्लामा आज अप्रत्यासित तथा आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण उत्पन्न गम्भीर र चिन्ताजनक अवस्थाप्रति नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद रामहरी खतिवडाले गहिरो चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खतिवडाले भोटेकोशी र त्रिशूली नदीका तल्लो तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।
उनले यस्तो विपद्को अवस्थामा सरकारले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिएका छन्। विशेषगरी प्रभावित क्षेत्रका नागरिकको तत्काल उद्धार, राहत तथा आवश्यक सहयोगमा सरकार केन्द्रित हुनुपर्ने उनको भनाइ छ।
“आज रसुवामा अप्रत्यासित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको छ,” खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन्, “यस्तो विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ।”
पूर्वसांसद खतिवडाले विपद्को घडीमा राजनीतिक तथा सामाजिक सबै पक्ष एकजुट भएर प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतका लागि सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend