बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

उपत्यकाको फोहोर व्यवस्थापनबारे प्रधानमन्त्री बालेनसँग भेट्ने मेयर्स फोरमको निर्णय

उपत्यकाको फोहोर व्यवस्थापनबारे प्रधानमन्त्री बालेनसँग भेट्ने मेयर्स फोरमको निर्णय

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन फेरि स्थानीय सरकारको साझा चिन्ताको विषय बनेको छ। उपत्यकाभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेट गरी फोहोर व्यवस्थापनलगायतका महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

आज बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग यथाशीघ्र भेटघाटको समय तय गरी उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गर्दै आएका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक पर्ने जग्गाको उपलब्धताजस्ता विषयमा विस्तृत छलफल गर्ने निर्णय गरेको हो।

फोरमले फोहोर व्यवस्थापनलाई एउटा स्थानीय तहको मात्र समस्या नभई उपत्यकाभरिका नागरिकसँग प्रत्यक्ष जोडिएको साझा चुनौतीका रूपमा लिएको छ। त्यसैले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र स्पष्ट जिम्मेवारीबिना यसको दिगो समाधान सम्भव नहुने निष्कर्ष बैठकले निकालेको जनाएको छ।

यसैबीच, बैठकले गत भदौ ५ गते सिंहदरबारमा आयोजित फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङले गरेको भनिएको व्यवहारप्रति पनि गम्भीर आपत्ति जनाएको छ। उक्त घटनाबारे समेत प्रधानमन्त्रीसँग भेटका क्रममा औपचारिक रूपमा ध्यानाकर्षण गराइने फोरमले जनाएको छ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषय प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको प्रमुख रहँदादेखि नै फोरमको प्राथमिकतामा रहँदै आएको बताइएको छ। विभिन्न स्थानीय तहले संयुक्त रूपमा समाधान खोज्ने प्रयास गर्दै आए पनि दीर्घकालीन व्यवस्थापनको ठोस टुंगो लाग्न नसकेको फोरमको बुझाइ छ।

तत्कालीन सरकार र नेप बेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने कि उक्त सम्झौता खारेज गरेर फोहोर व्यवस्थापनका लागि नयाँ विकल्प खोज्ने भन्ने विषयमा पनि फोरमका बैठकमा पटक–पटक बहस हुँदै आएको छ। अब यस विषयलाई समेत प्रधानमन्त्रीसँगको छलफलमा प्राथमिकताका साथ उठाइने जनाइएको छ।

उपत्यकामा दैनिक उत्पादन हुने ठूलो परिमाणको फोहोर व्यवस्थापन वर्षौंदेखि चुनौतीपूर्ण बन्दै आएको छ। फोहोर विसर्जनस्थल, स्थानीय बासिन्दाको असन्तुष्टि, जग्गाको अभाव र विभिन्न सरकारी निकायबीचको समन्वय कमजोरीका कारण समस्या बेलाबेलामा गम्भीर बन्ने गरेको छ।

मेयर्स फोरमले भने तीनै तहका सरकारबीच सहकार्य र जिम्मेवारीको स्पष्ट बाँडफाँट गर्न सके उपत्यकाको फोहोर व्यवस्थापनलाई व्यवस्थित, वैज्ञानिक र दीर्घकालीन बनाउन सकिने जनाएको छ। स्थानीय सरकार यसका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै फोरमले अब प्रधानमन्त्रीसँगको भेटपछि ठोस समाधानतर्फ पहल अघि बढ्ने अपेक्षा गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend