काठमाडौं । राष्ट्रिय शक्ति नेपालद्वारा सम्पादित एवं प्रकाशित ‘स्वाभिमानी नेपाली, आत्मनिर्भर नेपाल’ शीर्षक स्रोत पुस्तक लोकार्पण गरिएको छ। शनिबार अर्थात् २०८३ भदौ ६ गते काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा आयोजित एक समारोहबीच पुस्तक लोकार्पण गरिएको हो।
प्राज्ञ डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्टले सभापतित्व गरेका थिए। कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरे पनि अतिथिका रूपमा उपस्थित थिए।
पुस्तक राष्ट्रियता, स्वाभिमान र आत्मनिर्भर नेपालको अवधारणालाई केन्द्रमा राखेर प्रकाशन गरिएको बताइएको छ। देशको आर्थिक, सामाजिक तथा राष्ट्रिय विकासका लागि आत्मनिर्भरता आवश्यक रहेको विषयलाई पुस्तकले प्राथमिकताका साथ प्रस्तुत गरेको जनाइएको छ।
‘स्वाभिमानी नेपाली, आत्मनिर्भर नेपाल’ स्रोत पुस्तकको सम्पादक समितिमा बिराज बहादुर बिष्ट लगायत रहेका छन्। पुस्तकमा समेटिएका विषयवस्तुले नेपाली समाजमा राष्ट्रिय स्वाभिमानको भावना बलियो बनाउँदै आत्मनिर्भर अर्थतन्त्र र समृद्ध नेपालको बहसलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
लोकार्पण कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, बुद्धिजीवी, पत्रकार, राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधि र राष्ट्रिय शक्ति नेपालसँग आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपालको विकास र समृद्धिका लागि राष्ट्रिय स्वाभिमान, उत्पादन वृद्धि र आत्मनिर्भरताको मार्गलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले नेपाली जनताको क्षमता, श्रम र स्रोतसाधनको उचित परिचालन गर्न सके देशलाई आत्मनिर्भर बनाउने लक्ष्य हासिल गर्न सकिने धारणा राखेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend