बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

‘फ्रि भिसा, फ्रि टिकट’ नीति संशोधनमा तत्कालीन गठबन्धन सरकार बाधक बन्यो : पूर्वश्रममन्त्री श्रेष्ठ

‘फ्रि भिसा, फ्रि टिकट’ नीति संशोधनमा तत्कालीन गठबन्धन सरकार बाधक बन्यो : पूर्वश्रममन्त्री श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वश्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफू श्रममन्त्री हुँदा वैदेशिक रोजगारमा लामो समयदेखि विवादित रहँदै आएको ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिमा आवश्यक सुधार गर्न खोजे पनि तत्कालीन गठबन्धन सरकारका शीर्ष नेताहरूको दबाबका कारण अघि बढ्न नसकेको बताएका छन्।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालको साधारणसभा तथा छैटौँ अधिवेशनको उद्घाटन गर्दै श्रेष्ठले आफू वैदेशिक रोजगार व्यवसायी पृष्ठभूमिबाट आएकाले मन्त्री बनेलगत्तै उक्त नीतिमा पुनरावलोकनको पहल गरेको बताए। तर, नीतिगत सुधारको प्रयास गर्दा राजनीतिक दबाब बढेको उनको भनाइ थियो।

‘मैले धेरै प्रयास गरेको हो । प्रयास गर्दा पद नै चिप्लिएर आफैं लड्ने अवस्था भएकाले छोडिदिएँ,’ श्रेष्ठले भने।

उनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अघि सारेको १५ बुँदे मागप्रति आफ्नो पार्टीको पूर्ण समर्थन रहेको पनि स्पष्ट पारे। वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र व्यवसायी तथा श्रमिक दुवैको हित सुनिश्चित हुने गरी नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा उद्योग व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष, निवर्तमान सांसद तथा संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बूले वैदेशिक रोजगार व्यवसायीले उठाएका माग कामदार र व्यवसायी दुवैको हितसँग जोडिएको बताए। सरकार, असामाजिक तत्व र विदेशी रोजगारदाताको दबाबबीच व्यवसायीले काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले नीति तथा कानुन सुधारमार्फत समस्या समाधान गर्नुपर्ने धारणा राखे।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले संघको आन्दोलनलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताए। १५ बुँदे माग राज्यविरुद्धको आन्दोलन नभई वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र व्यवस्थित पेशाका रूपमा स्थापित गर्ने प्रयास भएको उनले स्पष्ट पारे।

खत्रीका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ मा रहेका नीतिगत त्रुटि सुधारका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ। ऐनको दफा २४ मा मन्त्रीले पारदर्शिताका आधारमा सेवा शुल्क निर्धारण गर्न सक्ने व्यवस्था रहेकाले सेवाग्राहीलाई न्याय हुने गरी लागत शुल्क तथा अन्य व्यवस्थामा पुनरावलोकन आवश्यक रहेको उनले बताए।

मञ्चका संस्थापक अध्यक्ष सरोज पोखरेलले मञ्चबाट अघि सारिएका उम्मेदवारले संघको नेतृत्व गरिरहेको उल्लेख गर्दै व्यवसायीका समस्या समाधानमा प्रतिबद्ध नेतृत्वलाई मञ्चको नयाँ नेतृत्वले सहयोग गर्नुपर्ने धारणा राखे।

संघका पूर्वअध्यक्ष तथा सल्लाहकार राजेन्द्र भण्डारीले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगार क्षेत्रको महत्वपूर्ण योगदान रहे पनि सरकारी अनुदार नीतिका कारण व्यवसायी समस्यामा परेको बताए। क्षेत्रका समस्या समाधानका लागि व्यवसायी एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा उद्योग व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष तथा मञ्चका इन्चार्ज सुवर्ण श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए। जनक रावलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मञ्चका उपमहासचिव दण्डपाणि भट्टराई ‘दिलीप’ले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमलाई मायाको चिनो प्रदान गरिएको थियो। टंक राउत, लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष रामप्रसाद गैरे, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीलगायतको कार्यक्रममा उपस्थिति थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend