काठमाडौं ७, मंसिर । पशुपंक्षीहरुको सर्वाधिक बली चढाईने मन्दिरको रुपमा परिचित गढीमाई मन्दिरमा अब देखि पशुपंक्षिहरुको संरक्षण गरिने भएको छ । प्रत्येक पाँच बर्षमा लाग्ने गढीमाई मेलामा हजारौँको संख्यामा पशुपंक्षिहरुको बली दिने गरिएकोमा पशु अधिकारकर्मीहरुका साथै राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा यसको बिरोध हुने गरेको छ ।
यस वर्ष हुन लागेको पाँचवर्षीय गढीमाई मेलाको पूर्वसन्ध्यामा परेवा संरक्षण अभियानको घोषणा भएको छ । अभियानको सुरुवात महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव र बारा जिल्लाका प्रमुख जिल्ला अभिकारी फणीन्द्रमणी पोख्रेलले संयूक्त रुपमा गर्नुभयो । अब देखि यस क्षेत्रमा कसैले परेवा मारेमा वा बली दिएमा पाँचहजार जरिवाना हुनेछ ।
परेवा संरक्षण अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि यसको सुरक्षा गरि गढीमाईलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्नका लागि गढीमाई मन्दिर र पञ्चवर्षीय मेलालाई पर्यटन प्रबद्र्धनसँग जोडेर लैजाने प्रतिबद्धता नगर प्रमुख यादवले गर्नुभयो ।त्यस्तै यस वर्ष हुन लागेको गढीमाई मेलामा हुने पशुबली निरुत्साहित गर्दैै यसको अन्त्य गर्नका लागि पशु कल्याण संघ नेपालले कृषि तथा पशुपंक्षि विकास मन्त्रालय, पशु सेवा विभाग, नेपाल भेटेरीनरी एशोसिएसन, बारा जिल्लाका विभिन्न स्थानीय निकायहरुका साथै गढीमाई मेला व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय बारा, स्थानीय महिला समूहहरु, यूवा क्लबहरु, नागरिक समाजका अगुवाहरुका र सञ्चार माध्ययमहरुसँगको सहकार्यमा विभिन्न किसिमका सचेतना मूलक कार्यक्रमहरु गरिरहेको छ ।
ह्युमन सोसाईटि इन्टरनेशनलसँगको सहकार्यमा संघले पशु बली निरुत्साहनका लागि जनचेतनामूलक कार्यक्रमहरु गर्ने, स्वयम्सेवक समुहहरु निर्माण गर्ने तथा मेलालाई व्यवस्थित र मर्या्दित बनाउन मेला व्यवस्थापन समितिलाई आवश्यक सहयोग गरिरहेको छ । छिमेकी मुलुक भारतबाट बलीका लागि ल्याईने जनावरहरुको अबैध निकासी रोक्नका लागि स्थानीय पशु क्वारेन्टाईन चेकपोष्टहरुसँग पनि सहकार्य भइरहेको छ ।
त्यस्तै बलीका लागि ल्याईने बिरामी जनावरहरुको चेकजाँच गरि फिर्ता पठाउने, पशु बलीको साटो नरीवल, कुभिण्डो जस्ता फलफूलहरुको बली दिने, पैसा र फूल चढाउनका लागि भक्तालुहरुलाई अनुरोध गर्ने योजना रहेको पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिन्भयो । यस वर्ष परेवा संरक्षण अभियान सुरु गरिएको छ, यो एउटा उदाहरणीय काम हो ।
तर हामी सबै जनावरहरुको संरक्षण होस् र पशुबलीको अन्त्य होस् भन्ने चाहान्छौँ ,अध्यक्ष श्रेष्ठले बताउनुभयो । सर्वोच्च अदालतले पनि पशुबली निरुत्साहित गर्नु र कसैले पनि पशुबलीलाई प्रोत्साहन नगर्नु भनेर आदेश गरिसकेको सन्दर्भमा यसको परिपालना गर्नु हामी सबैको कर्तव्य हो ,श्रेष्ठको भनाई छ ।
यसका साथै गढीमार्ईमा पशुबलीलाई निरुत्साहीत गर्दै शाकाहारी बलीलाई प्रोत्साहन गरिने भएको छ । पशुबलीको विकल्पको रुपमा नरिवल, कुभिण्डो जस्ता शाकाहारी बलि दिन सकिने र पशुबीलको सट्टा एक राँगा बराबर ८ हजार, एक बोका बराबर ४ हजार र १ जोडी परेवा बराबर ३ सय रुपैयाँ भेटिको रुपमा चढाउन सकिने छ । जसले अवोध पशुको ज्यान जोगिने छ भने मन्दिरको संरक्षण र प्रर्वद्धनमा पनि सहयोग पुग्ने पशुअधिकारकर्मीको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend