काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटनालाई लिएर चालक तथा सहचालकमाथि हुने हातपात र कुटपिट तत्काल रोक्न कडा कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन्।
तारकेश्वर यातायात प्रालिको सातौँ साधारणसभाको शनिबार काठमाडौँमा उद्घाटन गर्दै सिटौलाले दुर्घटना भएपछि दोषी ठहर गर्ने अधिकार कानुनी निकायको भएको उल्लेख गर्दै भीडले चालकलाई आफैँ दण्डित गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।
उनले प्रहरी तथा ट्राफिक कर्मचारीको जस्तै चालक र सहचालकको पनि सुरक्षाको प्रत्याभूति राज्यले गर्नुपर्ने धारणा राखे। उनका अनुसार दुर्घटना भएको अवस्थामा त्यसको अनुसन्धान, दोष निर्धारण र कारबाहीका लागि राज्यले तोकेको कानुनी प्रक्रिया हुँदाहुँदै चालक तथा सहचालकमाथि आक्रमण गर्नु उचित होइन।
सिटौलाले भने, “दुर्घटनाको अनुसन्धान र कारबाही गर्ने आफ्नै कानुनी प्रक्रिया छ। त्यसलाई छाडेर चालक तथा सहचालकमाथि कुटपिट गर्ने अवस्थाको अन्त्य हुनुपर्छ।”
यातायात व्यवसायीहरूले सामाजिक दायित्वअन्तर्गत विद्यार्थी, दृष्टिविहीन, अपाङ्गता भएका व्यक्ति, महिला तथा ज्येष्ठ नागरिकलाई विभिन्न प्रकारका छुट तथा सुविधा दिँदै आएको पनि उनले बताए। सरकारले प्रतिबद्धता गरेअनुसार उपलब्ध गराउने भनिएको ६० प्रतिशत छुट रकम वा त्यससम्बन्धी नीति तत्काल कार्यान्वयन गर्न उनले सरकारसँग माग गरे।
उनले यातायात क्षेत्रको सुधार केवल व्यवसायीका माग पूरा गरेर सम्भव नहुने भन्दै यात्रुलाई प्रदान गरिने सेवाको गुणस्तर पनि सुधार गर्नुपर्नेमा जोड दिए। व्यवसायी तथा चालक–सहचालकले यात्रुमाथि दुर्व्यवहार गर्ने, असहज व्यवहार देखाउने वा सेवामा लापरबाही गर्ने प्रवृत्ति त्याग्नुपर्ने उनको भनाइ थियो।
सिटौलाले यातायात व्यवसायी र श्रमिकको सुरक्षासँगै यात्रुको अधिकार तथा सुविधालाई पनि प्राथमिकतामा राखेर सार्वजनिक यातायात क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend