बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नाट्टा निर्वाचनमा जिस्वान तुलाधर श्रेष्ठ प्यानलको उम्मेदवारी घोषणा, १२ बुँदे प्रतिबद्धता सार्वजनिक

नाट्टा निर्वाचनमा जिस्वान तुलाधर श्रेष्ठ प्यानलको उम्मेदवारी घोषणा, १२ बुँदे प्रतिबद्धता सार्वजनिक

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचन २०२६–२०२८ का लागि जिस्वान तुलाधर श्रेष्ठ नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गर्दै १२ बुँदे निर्वाचन प्रतिबद्धता सार्वजनिक गरेको छ।

‘सदस्यको विश्वास, एकताबद्ध नाट्टा, समृद्ध पर्यटन व्यवसाय’ भन्ने नारासहित निर्वाचनमा होमिएको श्रेष्ठ नेतृत्वको टोलीले नाट्टालाई थप सबल, समावेशी, पारदर्शी, प्रविधिमैत्री र पर्यटन व्यवसायीमुखी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ।

प्यानलले पर्यटन व्यवसायीले लामो समयदेखि भोग्दै आएका समस्या समाधानसँगै अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन, प्रविधिको प्रयोग, संस्थागत सुधार, हवाई टिकटिङ प्रणालीमा सुधार तथा नयाँ पुस्ताका पर्यटन उद्यमीलाई प्रोत्साहनलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ।

अन्तर्राष्ट्रिय पर्यटन बजार विस्तारका लागि डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता (एआई) तथा व्यवसाय–व्यवसायबीचको डिजिटल कारोबार प्रणालीको प्रयोग बढाउने प्यानलको योजना छ। त्यस्तै, अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) तथा हवाई टिकटिङ प्रणालीमा देखिएका समस्या समाधान, विश्वव्यापी वितरण प्रणाली (जीडीएस) मा समान पहुँच, अनधिकृत शुल्कसम्बन्धी समस्या व्यवस्थापन तथा एयरलाइन्सका टिकट वितरणसम्बन्धी सीमितता नीतिलाई पारदर्शी र व्यवसायीमैत्री बनाउन पहल गर्ने प्रतिबद्धता जनाएको छ।

नयाँ तथा साना पर्यटन व्यवसायीलाई सहज सेवा उपलब्ध गराउन ‘एकद्वार प्रणाली’ र नाट्टा सहायता कक्ष स्थापना गर्ने योजना पनि प्यानलले अघि सारेको छ। महिला तथा युवा पर्यटन उद्यमीका लागि क्षमता अभिवृद्धि, उद्यमशीलता विकास तथा नयाँ व्यवसाय प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ।

हवाई टिकटमा लाग्ने लागत तथा मूल्य अभिवृद्धि करसम्बन्धी व्यवस्थाको पुनरावलोकनका लागि सरकार तथा सम्बन्धित निकायसँग पहल गर्ने प्यानलको योजना छ। प्रमुख पर्यटकीय गन्तव्यलाई जोड्ने अन्तरशहरी यातायात सञ्जाल विस्तार तथा आधुनिक पर्यटकीय बसपार्क निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्ने प्रतिबद्धता पनि प्यानलले जनाएको छ।

नाट्टाको संस्थागत पुनर्संरचना गर्दै प्रदेश तथा क्षेत्रीय प्रतिनिधित्व र अधिकारलाई थप सुनिश्चित गर्ने योजना पनि श्रेष्ठ प्यानलले अघि सारेको छ। ‘स्मार्ट नाट्टा’ अवधारणामार्फत संस्थाका प्रशासनिक काम तथा सेवा प्रवाहलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने र अनलाइन मतदान प्रणालीलगायत डिजिटल सेवाको परीक्षण परियोजना सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ।

त्यसैगरी, अनधिकृत विदेशी टुर अपरेटर, अवैध पर्यटक पथप्रदर्शक तथा सामाजिक सञ्जालमार्फत हुने गैरकानुनी भ्रमण प्याकेजको बिक्री तथा सञ्चालन नियन्त्रणका लागि सम्बन्धित सरकारी निकायसँग प्रभावकारी समन्वय गर्ने प्यानलले जनाएको छ।

पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी र दिगो सञ्चालनका लागि आवश्यक पहल गर्ने तथा नाट्टाका प्रादेशिक शाखालाई थप अधिकारसम्पन्न, सक्रिय र आत्मनिर्भर बनाउने प्रतिबद्धता पनि प्यानलले गरेको छ।

बाह्य पर्यटक भ्रमण तथा विदेश भ्रमणका क्षेत्रमा देखिएका वैदेशिक मुद्रा र नीतिगत जटिलता समाधानका लागि पहल गर्ने योजना पनि श्रेष्ठ प्यानलले सार्वजनिक गरेको छ। कैलाश यात्रा, भुटान भ्रमणलगायत धार्मिक तथा अन्तर्राष्ट्रिय यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ।

पर्यटन व्यवसायीको व्यावसायिक दक्षता अभिवृद्धिका लागि ‘नाट्टा एकेडेमी’ अवधारणालाई प्रभावकारी बनाउने प्यानलको योजना छ। डिजिटल बजार प्रवर्द्धन, विदेशी भाषा, कृत्रिम बौद्धिकता, संकट व्यवस्थापन, नेतृत्व विकास तथा आधुनिक पर्यटन प्रविधिसम्बन्धी नियमित तालिम सञ्चालन गर्ने प्रतिबद्धता पनि गरिएको छ।

आन्तरिक पर्यटन प्रवर्द्धन, पर्यटकीय गन्तव्यसम्म सहज पहुँच तथा सडक र यातायात पूर्वाधार सुधारलाई पनि प्यानलले प्राथमिकतामा राखेको छ। पर्यटन व्यवसायको विस्तारका लागि सरकारका विभिन्न तह तथा निजी क्षेत्रबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने लक्ष्य प्यानलले लिएको जनाएको छ।

यस्तो छ जिस्वान तुलाधर श्रेष्ठ नेतृत्वको प्यानल

नाट्टा निर्वाचन २०२६–२०२८ का लागि जिस्वान तुलाधर श्रेष्ठ नेतृत्वमा अध्यक्षदेखि कार्यसमिति सदस्यसम्मको उम्मेदवारी घोषणा गरिएको छ।

अध्यक्ष: जिस्वान तुलाधर श्रेष्ठ — स्वा ट्राभल्स एन्ड टुर्स
वरिष्ठ उपाध्यक्ष: विष्णु पाण्डे — हिमालयन क्लब टुर्स एन्ड ट्राभल्स
उपाध्यक्ष: प्रज्ञा पाठक शर्मा — एडभेन्चर आउटडोर एक्सकर्सन
महासचिव: सुशील पन्त — गोर्खा इन्टरनेसनल ट्राभल्स
सचिव: रमेश घिमिरे — वेल नेपाल टुर्स एन्ड ट्रेक्स
कोषाध्यक्ष: कृष्णप्रसाद ढकाल — काठमाडौं हलिडे टुर एन्ड ट्राभल
सह–कोषाध्यक्ष: डा. विमला दाहाल — सेलेक्टेड टुर्स एन्ड ट्राभल

कार्यसमिति सदस्य

१. प्रदीप आचार्य — ड्युक नेपाल एडभेन्चर
२. सुदर्शन गजुरेल — पर्ल होलिडेज
३. दिनेश घिमिरे — शिवालय होलिडेज
४. त्रिलोचन न्यौपाने — इन्टेल रोशी टुर्स एन्ड ट्राभल
५. अनु राउत (अधिकारी) — नेपाल स्नो ज्वेल ट्राभल एन्ड टुरिजम
६. रोजिना रञ्जितकार — रेनबो ट्राभल्स एन्ड टुर्स

श्रेष्ठ नेतृत्वको प्यानलले नाट्टालाई कुनै व्यक्ति वा समूह विशेषको संस्था नभई सम्पूर्ण पर्यटन व्यवसायीको साझा आवाज र साझा मञ्चका रूपमा विकास गर्ने जनाएको छ।

पर्यटन व्यवसायीका समस्या पहिचान गरेर मात्र नरोकिने भन्दै प्यानलले ती समस्याको नीतिगत समाधानका लागि सरकार, सम्बन्धित सरकारी निकाय तथा पर्यटन क्षेत्रका अन्य सरोकारवालासँग निरन्तर र परिणाममुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

‘सबल संस्था निर्माणका लागि एकता, व्यवसायको सुरक्षाका लागि प्रभावकारी नेतृत्व र नेपालको पर्यटन समृद्धिका लागि दूरदर्शी सोच आवश्यक छ’ भन्ने धारणा अघि सार्दै श्रेष्ठ नेतृत्वको प्यानलले नाट्टा निर्वाचन २०२६–२०२८ मा आफूहरूको सम्पूर्ण प्यानललाई मतदान गरी विजयी गराउन नाट्टा सदस्य तथा पर्यटन व्यवसायीसमक्ष अपिल गरेको छ।

‘सम्बन्ध जोड्दै, अवसर सिर्जना गर्दै, सँगै समृद्ध नाट्टाका लागि’ भन्ने अभियानसहित जिस्वान तुलाधर श्रेष्ठ नेतृत्वको प्यानल निर्वाचनमा होमिएको हो।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend