काठमाडौं । सर्वोच्च अदालतले नेपाल लेखापढी व्यवसायी एशोसिएशन समिति, भक्तपुरले दायर गरेको उत्प्रेषणसम्बन्धी रिट निवेदनमा पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले २०८३ साउन १८ गते उक्त आदेश दिएको हो।
नेपाल लेखापढी व्यवसायी एशोसिएशन समिति, भक्तपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेतलाई विपक्षी बनाई रिट निवेदन दायर गरेको थियो।
उक्त रिटमा सबै प्रत्यर्थीहरूको लिखित जवाफ परिसकेको देखिएको भन्दै अदालतले अब मुद्दालाई पूर्ण सुनुवाइका लागि अघि बढाउन उपयुक्त हुने ठहर गरेको छ।
सर्वोच्चको आदेशमा सोही विषयसँग सम्बन्धित समान कानुनी प्रश्न समावेश भएको ०८२-WO-१५३५ नम्बरको रिट निवेदनसमेत यसै अदालतमा विचाराधीन रहेको उल्लेख गरिएको छ। उक्त रिट बासुदेव मिश्रले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरेका हुन्।
दुवै रिटमा समान कानुनी प्रश्न रहेको देखिएपछि सर्वोच्चले बासुदेव मिश्रको रिट निवेदनसमेत साथै राखी पूर्ण सुनुवाइका लागि नियमानुसार पेश गर्न आदेश दिएको हो।
अब दुवै निवेदनलाई सँगसँगै राखेर अदालतले उठाइएका कानुनी प्रश्नमा विस्तृत सुनुवाइ गर्नेछ। आदेशसँगै लेखापढी व्यवसायीको पेशा तथा यससँग सम्बन्धित कानुनी व्यवस्थाबारे सर्वोच्चको पूर्ण इजलासीय सुनुवाइतर्फ बाटो खुलेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend