काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ।
एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धन, शिक्षा मन्त्रालयको स्वीकृति तथा त्रिभुवन विश्वविद्यालयको समकक्षतासहित सञ्चालनमा आएको यी कार्यक्रमका लागि फाउण्डेशनले डीएलए कन्सल्टिङसँग सहकार्य गरेको जनाएको छ।
कार्यक्रम उद्घाटन गर्दै फाउण्डेशनका अध्यक्ष इन्जिनियर पंकज जालानले एआई अब भविष्यको प्रविधि मात्र नभई हरेक क्षेत्रको दैनिक कार्यप्रणाली परिवर्तन गर्ने शक्तिका रूपमा स्थापित भइसकेको बताए। उनका अनुसार बैंकिङ, व्यापार, व्यवस्थापन, डाटा विश्लेषणदेखि कार्यालयका नियमित कामसम्म एआईको प्रयोग तीव्र रूपमा बढिरहेको छ।
उनले केही वर्षअघि घण्टौँ लाग्ने काम अहिले एआईले केही मिनेटमै सम्पन्न गर्न सक्ने अवस्था आएको उल्लेख गर्दै नेपालमा पनि एआईलाई केवल प्रविधिको उपकरणका रूपमा नभई व्यवस्थापन, व्यवसाय र शिक्षासँग जोडेर अध्ययन–अध्यापन गराउन आवश्यक भएको बताए।
जालानका अनुसार नयाँ पाठ्यक्रमको लक्ष्य विद्यार्थीलाई एआई सफ्टवेयर विकासकर्ता बनाउनु मात्र होइन, बजारमा उपलब्ध एआई उपकरण र समाधानलाई व्यवसाय तथा संस्थागत व्यवस्थापनमा प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने नेतृत्व तयार गर्नु हो।
कार्यक्रममा फाउण्डेशनका कार्यकारी निर्देशक प्रकाश केजरीवालले एआईको वर्तमान अवस्था, सूचना प्रविधिको विकासक्रम तथा भविष्यका सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
फाउण्डेशनले निकट भविष्यमा आफ्नै भौतिक एआई सर्भर ल्याब स्थापना गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ। विदेशबाट एआई सर्भर नेपाल ल्याएर विद्यार्थीलाई प्रत्यक्ष प्रयोगात्मक सिकाइको अवसर प्रदान गर्ने योजना रहेको बताइएको छ।
फाउण्डेशनका अनुसार एआई ल्याबले विद्यार्थीलाई कम लागतमा आफ्नै सर्भरमा एआईसम्बन्धी प्रयोग, परीक्षण र अनुसन्धान गर्ने वातावरण उपलब्ध गराउनेछ। साथै विद्यार्थीले ११ वटा अन्तर्राष्ट्रिय अनलाइन ल्याब, अनुसन्धान पत्र, जर्नल तथा डिजिटल पुस्तकहरूको पहुँचसमेत प्राप्त गर्नेछन्।
डीएलए कन्सल्टिङका संस्थापक अध्यक्ष सुमन न्यौपानेले एआई सूचना प्रविधिको एउटा पक्ष मात्र नभई आधुनिक संस्थाहरूको रणनीतिक निर्णय प्रक्रियाको केन्द्रबिन्दु बनिसकेको बताए। उनले अन्तर्राष्ट्रियस्तरको एआई केन्द्रित व्यवस्थापन शिक्षा नेपालमै उपलब्ध गराएर भविष्यका व्यवसायिक नेतृत्व तयार गर्ने आधार निर्माण गरिएको उल्लेख गरे।
उनका अनुसार नेपालको सूचना प्रविधि क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको वर्तमान अवस्थामा यस्ता कार्यक्रमले दक्ष जनशक्ति उत्पादनसँगै देशको डिजिटल रूपान्तरणलाई पनि गति दिने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend