सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

होटेल व्यवसायको सुदृढीकरणमा एकता र सहकार्य अपरिहार्य : अध्यक्ष भण्डारी

होटेल व्यवसायको सुदृढीकरणमा एकता र सहकार्य अपरिहार्य : अध्यक्ष भण्डारी

काठमाडौं । होटेल व्यवसायी महासंघका अध्यक्ष शंकर भण्डारीले होटेल तथा पर्यटन व्यवसायलाई थप सुदृढ, व्यवस्थित र प्रतिस्पर्धी बनाउन व्यवसायीबीचको एकता, क्षमता अभिवृद्धि र प्रभावकारी समन्वय अपरिहार्य रहेको बताएका छन्।

कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनको १४औँ वार्षिक साधारणसभा, नवौँ अधिवेशन तथा स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले महासंघले देशभरका होटेल व्यवसायीको हित, क्षमता विकास र सेवा प्रवाहको गुणस्तर अभिवृद्धिका लागि निरन्तर काम गर्दै आएको बताए।

उनले होटेल व्यवसाय केवल आर्थिक गतिविधिमा सीमित नभई पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले यसको दिगो विकासमा सबै व्यवसायीको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे।

अध्यक्ष भण्डारीले देशभरका होटेल व्यवसायीको व्यवसायलाई अझ बलियो, व्यवस्थित र दीगो बनाउन महासंघले आवश्यक सहकार्य, समन्वय र नीति पैरवीलाई प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिए। उनले सामाजिक सुरक्षा, व्यवसायीका हकहितको संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण तथा व्यवसायीका साझा समस्याको समाधानमा महासंघले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले व्यवसायीहरूलाई महासंघका गतिविधिमा एकताबद्ध भएर सहभागी हुन आग्रह गर्दै साझा प्रयासबाट मात्र व्यवसायमा देखिएका चुनौतीहरूको सामना गर्न सकिने धारणा राखे। “व्यवसायीबीचको एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। सबैको सहकार्य र सहभागिताबाट मात्र होटेल व्यवसायलाई थप सशक्त र सम्मानित बनाउन सकिन्छ,” उनले भने।

कार्यक्रममा सहभागी व्यवसायीहरूले पनि होटेल तथा गेस्ट हाउस व्यवसायलाई समयानुकूल, गुणस्तरीय र प्रविधिमैत्री बनाउँदै पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, व्यवसायीहरूको क्षमता अभिवृद्धि, सेवा गुणस्तर सुधार र संस्थागत एकतालाई अझ मजबुत बनाउने विषयमा समेत छलफल गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend