सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

बागमती पेट्रोलियम डिलर्स एसोसिएसनको निर्वाचन आज, अध्यक्ष पदमा ईश्वर लामा र प्रल्हाद तिमिल्सिनाबीच प्रतिस्पर्धा

बागमती पेट्रोलियम डिलर्स एसोसिएसनको निर्वाचन आज, अध्यक्ष पदमा ईश्वर लामा र प्रल्हाद तिमिल्सिनाबीच प्रतिस्पर्धा

काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एसोसिएसनको ऐतिहासिक साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएसँगै अब नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। अध्यक्ष पदका लागि ईश्वर लामा र प्रल्हाद तिमिल्सिनाबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएपछि व्यवसायीहरूबीच चुनावी माहोल तातेको छ।
अध्यक्ष पदका उम्मेदवार ईश्वर लामाले निर्वाचनअघि सम्पूर्ण पेट्रोलियम व्यवसायी प्रतिनिधिहरूलाई अपिल जारी गर्दै अधिवेशनलाई सभ्य, भव्य र सफल बनाउन आग्रह गरेका छन्। उनले व्यक्तिको आत्मसम्मान कायम राख्दै पेशागत हित, व्यावसायिक एकता र संस्थागत सुदृढीकरणमा योगदान दिन सक्ने सामूहिक नेतृत्व निर्माण गर्नु सबै व्यवसायीको साझा जिम्मेवारी भएको बताएका छन्।
लामाले पेट्रोलियम क्षेत्रमा गरिएको ठूलो लगानी विद्युतीय सवारीसाधन, हाइड्रोजनजस्ता वैकल्पिक ऊर्जा प्रविधिको विस्तारसँगै नयाँ चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा व्यवसायीबीच आपसी सहमति, सहकार्य र एकता अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्। उनले व्यवसायप्रतिको सम्मान, लगानीको सुरक्षा र उचित प्रतिफल सुनिश्चित गर्न सक्षम नेतृत्व आवश्यक रहेको पनि बताएका छन्।
उनले व्यवसायीहरूको प्रतिष्ठा जोगाउन र संस्थालाई थप सशक्त बनाउन आफू प्रतिबद्ध रहेको जनाउँदै निर्वाचनमा सम्पूर्ण प्रतिनिधिहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरेका छन्।
उद्घाटन सत्र सम्पन्न भएसँगै अहिले निर्वाचनको तयारी तीव्र पारिएको छ। अध्यक्ष पदका उम्मेदवार ईश्वर लामा र प्रल्हाद तिमिल्सिनाले आफ्नो-आफ्नो पक्षमा मत मागिरहेका छन्। नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालमा बागमती प्रदेशका पेट्रोलियम व्यवसायीका हकहित, व्यवसायिक चुनौती र संस्थागत सुदृढीकरणका विषयमा नयाँ नेतृत्वले कस्तो भूमिका खेल्ने भन्ने विषयलाई व्यवसायीहरूले चासोका साथ हेरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend