काठमाडौं । नेपाली डिजिटल कन्टेन्ट सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले सोफा हब काठमाडौंले आयोजना गरेको ‘कन्टेन्ट क्रिएटर अवार्ड २०८३’ को उपाधि अनिश चापागाईँले जितेका छन्। भक्तपुरमा शुक्रबार साँझ आयोजित भव्य समारोहमा चापागाईँलाई नगद १ लाख रुपैयाँ सहित अवार्ड प्रदान गरिएको हो।
प्रतिस्पर्धाका लागि छनोट भएका ३२ जना उत्कृष्ट कन्टेन्ट क्रिएटरमध्येबाट अनिशले निर्णायक मण्डललाई प्रभावित पार्दै पहिलो स्थान हात पारेका हुन्। दोस्रो स्थानमा ‘टिम ४४४’ रहँदै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने सागर पाण्डे र श्रीजन श्रेष्ठले संयुक्त रूपमा तेस्रो स्थान हासिल गर्दै जनही २५ हजार रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरे।
अवार्डका विजेता छनोटका लागि चर्चित कलाकार सन्दीप क्षेत्री र भिडियो निर्माता सम्राट अधिकारी रहेको निर्णायक मण्डलले भिडियोको गुणस्तर, सिर्जनशीलता, प्रस्तुति शैली तथा ब्राण्डलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमताका आधारमा मूल्याङ्कन गरेको थियो। कार्यक्रममा बोल्दै कलाकार क्षेत्रीले डिजिटल माध्यममा सफलता हासिल गर्न प्रतिभासँगै निरन्तर मेहनत, धैर्यता र सही प्रक्रियाको महत्त्व रहेको उल्लेख गर्दै युवाहरूलाई सिर्जनशील यात्रामा निरन्तर लागिरहन प्रेरित गरे।
सोफा हब छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित समारोहमा उत्कृष्ट कन्टेन्ट सिर्जनाकर्ताको मात्र होइन, पत्रकारितामार्फत समाजमा योगदान पुर्याउने व्यक्तित्वको पनि सम्मान गरिएको थियो। रातोपाटी डटकमका सहायक सम्पादक राजकुमार सिग्देललाई ‘उत्कृष्ट पत्रकारिता सम्मान–२०८३’ प्रदान गर्दै पत्रकारिताप्रतिको योगदानको कदर गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली उत्पादन प्रवर्द्धनमा सोफा हबले खेलेको भूमिकाको प्रशंसा गरे। उनले आयातित फर्निचरको विकल्पका रूपमा स्वदेशमै गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै उद्योग, रोजगारी र राष्ट्रिय अर्थतन्त्रमा कम्पनीले सकारात्मक योगदान पुर्याइरहेको बताए।
समारोहमा आमा छोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, कागेश्वरी मनोहरा नगरपालिका–९ का वडाध्यक्ष अनिल थापा, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका महासचिव प्रेमहरि मैनाली, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हिमेश पन्त, पर्यटन व्यवसायी रामप्रसाद सापकोटालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सांगीतिक प्रस्तुतिले पनि कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। गायिका सिर्जना खत्री (हाउडे माया) र रेखा पोखरेललगायत कलाकारले आफ्नो प्रस्तुति दिएर समारोहलाई मनोरञ्जनपूर्ण बनाएका थिए।
कार्यक्रमका अन्त्यमा सोफा हबका संस्थापक तारालाल धरेलले कम्पनीको मूल उद्देश्य ‘नेपाली श्रम र सीपको सम्मान’ रहेको उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय बजारसम्म नेपाली उत्पादनलाई स्थापित गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए। उनका अनुसार कम्पनीका हाल देशभर ११ वटा शाखा सञ्चालनमा छन् भने छिट्टै जनकपुरमा १२औँ शाखा उद्घाटन गर्ने तयारी भइरहेको छ। सोफा हबले अहिले ३०० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउँदै आएको पनि उनले जानकारी दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend