सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

 नयाँ सोच, नयाँ गतिको नारासहित प्रश्रय राजभण्डारी अध्यक्षको दौडमा

 नयाँ सोच, नयाँ गतिको नारासहित प्रश्रय राजभण्डारी अध्यक्षको दौडमा

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि युवा पर्यटन व्यवसायी प्रश्रय राजभण्डारीले उम्मेदवारी घोषणा गरेका छन्। परिवर्तनको एजेन्डा, युवा नेतृत्वको आवश्यकता र ठमेललाई अन्तर्राष्ट्रियस्तरको पर्यटन गन्तव्यका रूपमा थप स्थापित गर्ने लक्ष्यसहित उनले चुनावी प्रतिस्पर्धामा होमिएका हुन्।

उम्मेदवारी घोषणा कार्यक्रममा राजभण्डारीले ठमेल नेपालको पर्यटन उद्योगको प्रमुख केन्द्र भए पनि समयअनुकूल व्यवस्थापन, पूर्वाधार सुधार र समन्वयात्मक नेतृत्वको अभाव महसुस भइरहेको उल्लेख गर्दै अब परिषद्मा नयाँ पुस्ताको सोच र कार्यशैली आवश्यक रहेको बताए। उनले व्यवसायी, पर्यटन उद्यमी, स्थानीय समुदाय तथा सरोकारवालाबीच सहकार्य गर्दै सुरक्षित, स्वच्छ, व्यवस्थित र पर्यटकमैत्री ठमेल निर्माणलाई आफ्नो प्राथमिक कार्यसूची बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले आफ्नो अभियानको मूल सन्देश सँगै मिलेर अझ राम्रो ठमेल निर्माण गरौं” रहेको उल्लेख गर्दै परिषद्लाई सीमित समूहको संस्था होइन, सम्पूर्ण व्यवसायीको साझा प्लेटफर्मका रूपमा विकास गर्ने अठोट व्यक्त गरे। उनका अनुसार ठमेलको समग्र विकासका लागि योजनामात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ।

राजभण्डारीले आफ्नो नेतृत्व चार प्रमुख आधारमा अघि बढ्ने स्पष्ट पारेका छन्। पहिलो, ठमेलको समग्र विकास र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्ने। दोस्रो, सबै व्यवसायी र सरोकारवालालाई समेट्ने साझा तथा समावेशी नेतृत्व प्रदान गर्ने। तेस्रो, पर्यटन क्षेत्रको हितमा पूर्ण समर्पणका साथ काम गर्ने। चौथो, निर्वाचनका क्रममा गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्दै परिणाममुखी नेतृत्व स्थापित गर्ने।

उनले ठमेललाई अन्तर्राष्ट्रिय पर्यटकको रोजाइमा अझ मजबुत बनाउन डिजिटल प्रवर्द्धन, सांस्कृतिक पर्यटन, रात्रीकालीन पर्यटन गतिविधिको व्यवस्थापन, सरसफाइ अभियान, सुरक्षा व्यवस्थापन, पूर्वाधार विस्तार तथा व्यवसायीमैत्री नीतिमा विशेष जोड दिने योजना पनि सार्वजनिक गरेका छन्। उनका अनुसार पर्यटन व्यवसायीहरूको हकहित संरक्षणसँगै निजी क्षेत्र र सरकारी निकायबीच प्रभावकारी समन्वय कायम गर्नु आगामी कार्यकालको मुख्य उद्देश्य हुनेछ।

राजभण्डारीले परिषद्को नेतृत्वमा पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी कार्यशैलीलाई संस्थागत गर्दै ठमेलको पहिचानलाई विश्व पर्यटन बजारमा अझ सशक्त रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे। उनले युवाको ऊर्जा, नवीन सोच र व्यावसायिक अनुभवलाई समेटेर परिषद्लाई नयाँ गति दिने दाबी गरे।

यसैबीच, राजभण्डारी समूहले आफ्नो समावेशी र अनुभवी चुनावी प्यानलसमेत सार्वजनिक गरेको छ। प्यानलअनुसार अध्यक्षमा प्रश्रय राजभण्डारी, उपाध्यक्षमा श्रीकृष्ण थपलिया, प्रकाश श्रेष्ठ र रमेश थापा, महासचिवमा पुण्यराम लागेजु, सचिवमा प्रकाश थापलिया तथा कोषाध्यक्षमा रोशन अधिकारी उम्मेदवार रहेका छन्।

त्यसैगरी सदस्य पदमा कमल अर्याल, नवीन तामाङ, सोजेश मालाकार र पूर्णिमा मालाकार उम्मेदवार रहेका छन्। राजभण्डारीले अनुभवी र ऊर्जाशील टोलीको संयोजनले परिषद्लाई थप प्रभावकारी, पारदर्शी र व्यवसायीमैत्री संस्थाका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा सम्पूर्ण व्यवसायी, पर्यटनकर्मी तथा परिषद्का सदस्यहरूसँग साथ, सहयोग र विश्वासका साथ समर्थनको अपिल गरेका छन्।

ठमेल पर्यटन विकास परिषद्को निर्वाचन नजिकिँदै जाँदा विभिन्न समूहबीच चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। उम्मेदवारहरूले आ–आफ्ना विकासका एजेन्डा सार्वजनिक गरिरहेका बेला राजभण्डारीको उम्मेदवारीले युवा नेतृत्व, संस्थागत सुधार र पर्यटन प्रवर्द्धनको बहसलाई थप बल दिएको व्यवसायीहरूको भनाइ छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend