सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा रमेश थापाको उम्मेदवारी घोषणा

ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा रमेश थापाको उम्मेदवारी घोषणा

काठमाडौं । पर्यटकीय राजधानीका रूपमा परिचित ठमेलमा यसपटक नेतृत्व चयनको बहससँगै नयाँ पुस्ताका व्यवसायीहरूको सक्रियता पनि बढेको छ। यही क्रममा लामो समयदेखि ठमेलको पर्यटन व्यवसायमा क्रियाशील युवा व्यवसायी रमेश थापा ले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

आगामी असार २७ गते हुने परिषद्को वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयनलाई लक्षित गर्दै उम्मेदवारी सार्वजनिक गरेका थापाले आफू केवल पदका लागि नभई ठमेलको समग्र पर्यटन क्षेत्रलाई नयाँ ऊर्जा दिने उद्देश्यका साथ चुनावी मैदानमा उत्रिएको बताएका छन्।

सिन्धुपाल्चोक स्थायी घर भएका थापा विगत धेरै वर्षदेखि ठमेलमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका छन्। व्यवसायसँगै पर्यटन क्षेत्रका साझा समस्या, सुरक्षा, व्यवस्थापन र व्यवसायीहरूको हकहितका विषयमा निरन्तर सक्रिय रहँदै आएका उनी अहिले परिषद्को नेतृत्व तहमा पुगेर ती एजेण्डालाई संस्थागत रूपमा कार्यान्वयन गर्ने योजनासहित चुनावी प्रतिस्पर्धामा छन्।

आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै थापाले ठमेललाई अझ सुरक्षित, व्यवस्थित, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विशेष पहल गर्ने बताएका छन्। उनले पर्यटन प्रवर्द्धनसँगै व्यवसायीहरूको हित संरक्षण, लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्र र सरोकारवाला निकायबीच प्रभावकारी समन्वयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

थापाले विगतमा सञ्चयकोष अगाडिको क्षेत्रमा सुरक्षागार्ड व्यवस्थापनका लागि महत्त्वपूर्ण पहल गरेको उल्लेख गर्दै व्यवसायीहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका छन्। उनका अनुसार सुरक्षित वातावरण बिना पर्यटन व्यवसायको दीगो विकास सम्भव नहुने भएकाले आगामी दिनमा सुरक्षा, सरसफाइ र व्यवस्थापनलाई अझ प्रभावकारी बनाइनेछ।

कोभिड–१९ महामारीका कारण पर्यटन व्यवसाय सबैभन्दा बढी प्रभावित भएको बेला पनि थापा सामाजिक उत्तरदायित्वबाट पछि हटेनन्। महामारीको कठिन समयमा उनले आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकका विद्यालय, स्थानीय समुदाय तथा विपन्न परिवारलाई स्वास्थ्य सामग्री, राहत र अन्य आवश्यक सहयोग उपलब्ध गराउँदै सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गरेका थिए। सामाजिक उत्तरदायित्वसँगै व्यवसायिक नेतृत्वको उदाहरण प्रस्तुत गरेका कारण पनि उनी युवा व्यवसायीहरूबीच परिचित नाम बनेका छन्।

उम्मेदवारी घोषणा गर्दै थापाले महामारीपछि आर्थिक मन्दीको असर अझै पूर्ण रूपमा हट्न नसकेको उल्लेख गरे। उनका अनुसार ठमेलको पर्यटन व्यवसायलाई पुनर्जीवित गर्न निजी क्षेत्रबीच सहकार्य, नवीन योजना, अन्तर्राष्ट्रिय प्रचारप्रसार र युवाको सक्रिय सहभागिता आवश्यक छ। यही उद्देश्यका साथ आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उनको भनाइ छ।

उनले परिषद्भित्र युवा व्यवसायीहरूको प्रतिनिधित्व अझ प्रभावकारी बनाउने, व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने तथा समाधानका लागि संस्थागत पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन्। पर्यटन व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजारसँग सहकार्य तथा पर्यटकमैत्री पूर्वाधार विकासमा विशेष ध्यान दिने उनको योजना छ।

ठमेल नेपालको प्रमुख पर्यटकीय केन्द्र भएकाले यसको विकासले केवल स्थानीय व्यवसायीलाई मात्र नभई समग्र राष्ट्रिय पर्यटन उद्योगलाई नै प्रत्यक्ष लाभ पुग्ने थापाको विश्वास छ। त्यसैले परिषद्को आगामी नेतृत्वले परम्परागत सोचभन्दा माथि उठेर परिणाममुखी कार्ययोजना लागू गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्।

ठमेल पर्यटन विकास परिषद्को निर्वाचन नजिकिँदै जाँदा रमेश थापाको उम्मेदवारीलाई युवा व्यवसायीहरूको प्रतिनिधित्व गर्ने अभियानका रूपमा समेत हेरिएको छ। अनुभव, सामाजिक उत्तरदायित्व र व्यवसायिक सक्रियतालाई आधार बनाएर उनी चुनावी मैदानमा उत्रिएका छन्। अब भने आगामी असार २७ गते हुने निर्वाचनले ठमेलका व्यवसायीहरूले उनको एजेण्डा र नेतृत्व क्षमतालाई कत्तिको विश्वास गर्छन् भन्ने टुंगो लगाउनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend